एजेन्सी । विश्व फुटबलकै कुम्भमेला फिफा विश्वकपको २१ औं संस्करण रुसमा जारी छ । रुस विश्वकपको समूह चरण अन्तर्गत दोस्रो चरणको खेलहरु पनि आइतबारबाट समाप्त भईसकेको छ ।
विश्वकपको अन्तिम चरणको खेलहरु आजबाट सुरु हुँदैछ । तर, समूह चरणको खेल नसकिदै विश्व बजारमा गोल्डेन बुट जित्ने खेलाडीबारे चर्चा सुरु हुन् थालेको छ । गोल्डेन बुटको दाबेदारको लागि अहिले ३२ राष्ट्रका ७३६ खेलाडी मैदानमा रहेका छन् । जसमध्ये सर्वाधिक गोलकर्ता खेलाडीले गोल्डेन बुट प्राप्त गर्ने छन् ।
समूह चरणको अन्तर्गत दोस्रो चरणको खेल सकिदा गोल्डेन बुटको मुख्य दाबेदार इंग्ल्यान्डका कप्तान ह्यारी केन देखिएका छन् । केनले दुई खेलमा ५ गोल गर्दै आफुलाई गोल्डेनबुट दाबेदार भएको प्रमाणित गरिसकेको छ ।
पहिलो खेल ट्युनिसियाविरुद्ध केनले दुई गोल गरेका थिए । आइतबार भएको पानामाविरुद्ध ह्याट्रिक गर्दै केनले ५ गोल पुरा गर्दै गोल्डेन बुट जित्ने सम्भावना बलियो बनाएको हो ।
गोल्डेन बुटको दाबेदार केनलाई अन्य दुई खेलाडीले पछ्याई रहेका छन् । बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो केनपछि गोल्डेन बुट दाबेदार खेलाडी हुन् । लुकाकु र रोनाल्डोले समान ४ – ४ गोल गरेका छन् ।
पोर्चुगलका कप्तान रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक र मोरक्कोविरुद्ध एक गोल गरेका थिए । रोनाल्डोको टिम पोर्चुगलले आज इरानविरुद्ध खेल्दै छ । रोनाल्डोले उक्त खेलपछि केन र लुकाकुलाई पछि पार्ने सम्भावना बलियो छ ।
यस्तै गोल्डेन बुटका दाबेदार अन्य खेलाडीमा रुसका डेनिस चेरीशेभ र स्पेनका डिएगो कोष्टा पनि हुन् । दुवैले ३ – ३ गोल गरेका छन् ।
त्यस्तै रुसका अर्टेम ड्युबा, बेल्जियमका इडेन हाजार्ड,नाइजेरियाका अहमेद मुसा,अष्ट्रेलियाका जेडिनक, इंग्ल्यान्डका जोन स्टोन, क्रोएसियाका लुका मोड्रिक र ब्राजिलका फिलिपे कौटिन्होले हालसम्म दुई गोल गर्दै गोल्डेन बुट जित्ने सम्भावना कायम राखेका छन् ।