काठमाडौं। नेपालले सहज जितसहित चारदेशिय टी–२० सिरिज सुरुआत गरेको छ। बुधबार सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको हो।
यो नतिजासँगै नेपालले दुई अंक बटुलेको छ। अब नेपालले बिहीबार दोस्रो खेलमा कुवेतलाई चुनौती प्रस्तुत गर्नेछ। कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै १५४ रन बनायो।
नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए। १९ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २१ बलमा चार चौकासहित ३३ रन बनाए।
यी दुईले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्याएका हुन्। त्यसमा कप्तान रोहितकुमार पौडेलले ३७ र बसीर अहमदले ३० रन थपिदिए। यी दुवै ब्याटर अविजित रहे।
कतारका मुजीब–उल–रहमानले दुई विकेट लिए। तीन ओभर बलिङ गरेका उनले १२ रन खर्चिए।
त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार गरेको थियो।
कतारका कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाए। ५४ बल नै खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे।
शाहजैब जमिल२१ बलमा चार चौकासहित ३१ रनमा ललितनारायण राजवंशीबाट क्याच आउट भए। अरुमुगगणेश नागराजन १३ रनमा आउट हुँदा
मुजीब–उल–रहमान २० र मोहम्मद इर्शाद १८ रनमा अविजित रहे। नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सनकुमार झा र ललितनारयण राजवंशीको नाममा समान एक विकेट रह्यो।