काठमाडौं। बंगलादेश महिला राष्ट्रिय टोलीका प्रशिक्षक पिटर बटलरसँगको विवाद समाधान हुन नसकेको अवस्थामा ६ सिनियर खेलाडी भुटान पुगेका छन्।
प्रशिक्षक बटलर सोमबार इङ्ल्यान्डबाट फर्कन लागिरहेका बेला कप्तान सविना खातुनसहित रितु पोर्ना चक्मा, मोनिका चक्मा, मात्सुशिमा सुमाया, मसुरा परविन र रुपना चक्मा राष्ट्रिय महिला लिग खेल्न भुटान पुगेका हुन्।
सबिना, रितु, मोनिका र सुमाया पारो एफसीबाट खेल्नेछन् भने मसुरा र रुपना ट्रान्सपोर्ट युनाइटेडबाट मैदानमा उत्रिनेछन्। बंगलादेश फुटबल महासंघ (बिएफएफ)का अध्यक्ष ताबिथ अवाल, महिला विभाग प्रमुख महफुजा अख्तर किरोन र अन्य कार्यकारिणी सदस्यहरूले शनिबार यी ६ खेलाडीसँग भेट गरेका थिए।

बिएफएफ मिडिया कमिटीका अध्यक्ष आमिरुल इस्लाम बाबुले सञ्चारमाध्यमलाई जानकारी दिँदै सो भेट शुभकामना दिने शिष्टाचार मात्रै भएको बताए। तर, खेलाडीहरूको सम्झौता (कन्ट्रयाक्ट) सम्बन्धमा कुनै निर्णय भएको छ वा छैन भन्ने प्रश्नमा उनले कुनै स्पष्ट उत्तर दिएनन्।
यद्यपि, उनले आगामी महिला एसियन कप छनोट (जुन २९ देखि जुलाई ५ सम्म म्यानमारमा हुने) अघि यी खेलाडीलाई बोलाइने संकेत गरेका छन्।
प्रशिक्षकसँगको विवाद
गत अक्टोबरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित साफ महिला च्याम्पियनसिपदेखि नै वेस्टह्यामका पूर्वमिडफिल्डर बटलरको प्रशिक्षणमा रहेको बंगलादेशी टोलीमा विवाद उत्पन्न भएको छ।
पाकिस्तानसँग १–१ को निराशाजनक बराबरी खेल्दै साफ च्याम्पियनसिप सुरु गरेको थियो। त्यसपछि मैदानबाहिर विवाद सिर्जना हुन थालेको हो। मारिया मान्डा, मसुरा र सञ्जिदा अख्तरजस्ता सिनियर खेलाडीलाई बेन्चमा राखेर युवा खेलाडीलाई मैदानमा उतार्ने प्रशिक्षकको निर्णयले सबैलाई चकित पारेको थियो।

मारियाको अनुपस्थिति विशेष गरी महसुस गरिएको थियो। सेन्ट्रल मिडफिल्डर लामो समयदेखि टोलीका एक प्रमुख खेलाडी हुन्। जस्तोसुकै परिस्थितिमा पनि स्ट्राइकरसम्म बल पुर्याउन सक्ने मारियाको कलाले बंगलादेशलाई धेरै खेलमा उद्दार गरेको थियो। जसमा साढे दुई वर्षअघि काठमाडौंमा उपाधि जित्दा एक असिस्ट पनि हो।
पछि मोनिकाको स्थानमा मारियालाई भित्र्याइएको थियो। त्यतिखेर बंगलादेशले बराबरी गोलको खोजी गरेको थियो। मोनिकाले अनुभवी खेलाडीहरूलाई बेन्चमा राख्ने प्रशिक्षकको निर्णयबारे क्यामेरासामु केही भनिन्। यद्यपि, उनले बंगलादेशको मिडियासामु भने घुमाउरो पारामा असन्तुष्टि पोखेकी थिइन्।
मोनिकाले भनेकी थिइन्, ‘प्रशिक्षक यो नतिजा र प्रदर्शनबाट खुसी हुन सक्छन्। तर, हामीले विगतका भेटमा (उमेरस्तर र सिनियरमा) ५–०, ६–०, ७–० ले पराजित गरेका थियौं। अहिले बराबरी खेल्न परेको छ।’ तर, पिटरले भने पाकिस्तानी फुटबलको स्तर बढेको भन्दै बराबरीको नतिजाबाटै आफू खुसी रहेको बताउँदै आफ्नो बचावट गरेका थिए।

तर, पाँच पटकको च्याम्पियन भारतलाई ३–१ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रूपमा बंगलादेश सेमिफाइनलमा स्थान पक्का गरेको थियो। सेमिफाइनलमा भुटानलाई ७–१ ले हराएको बंगलादेशले फाइनलमा घरेलु टोली नेपालमाथि २–१ को जित निकाल्दै लगातार दोस्रोपल्ट साफ च्याम्पियनसिप जित्यो।
त्यसपछि पाकिस्तानविरुद्धको खेलमा उत्पन्न भएको विवाद अन्त्य हुने अपेक्षा गरिएको थियो। तर, जनवरी २९ देखि सुरू भएको बन्द प्रशिक्षणसँगै पुन: विवाद बल्झिएको छ। प्रशिक्षक बटलरमाथि खेलाडीप्रति अपमानजनक व्यवहार गरेको र टोलीमा विभाजन ल्याएको आरोप छ। यसैकारण १८ सिनियर खेलाडीले प्रशिक्षण बहिष्कार गरेका थिए।
त्यसपछि सविनाको नेतृत्वमा रहेका सिनियर खेलाडीहरूलाई युएईविरुद्धको दुई मैत्रीपूर्ण खेलको टोलीबाट बाहिर राखिएको थियो। त्यसपछि बिएफएफले नयाँ ३६ जना (प्रायः जुनियर) खेलाडीहरूलाई क्याम्पमा बोलाएर कन्ट्रयाक्टमा राखेको थियो।
ईद अगाडि बिएफएफले ५० भन्दा बढी खेलाडीलाई क्याम्पमा बोलाइने र सिनियर १८ खेलाडीसँग पनि कन्ट्रयाक्ट गर्ने तयारी भइरहेको बताएको थियो। तर, प्रशिक्षक बटलर फर्किन लागेका बेला यी ६ मुख्य खेलाडीको भुटान प्रस्थानले विवादको समाधान अझै नभएको स्पष्ट पारेको छ।
साफ महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी रितुले बंगलादेशी पत्रिका ‘द स्टार डेली’सँग कुरा गर्दै भनिन्,‘भेटमा कन्ट्रयाक्टबारे कुनै छलफल भएन। संघले राष्ट्रिय टोलीको खेल हुने बेला हामीलाई बोलाउने भनेको छ।’
उनले थपिन्,‘म भुटान लिगमा चार महिना खेल्ने तयारीमा छु। अध्यक्षज्यूले हामीलाई अभिभावकले जसरी शुभकामना दिनुभयो। तर, कन्ट्रयाक्टसम्बन्धी कुनै कुरा भएन।’