काठमाडौं। अलेसिया रूसोको उत्कृष्ट प्रदर्शनसँगै आर्सनल बुधबार महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।
आर्सनलले रियल मड्रिडविरुद्ध ३–० को सानदार जित निकाल्दै पहिलो लेगमा भोगेको २–० को हारको नतिजा उल्टाउँदै समग्रमा ३–२ को जित हात पारेको हो।
‘यो साँच्चै अविश्वसनीय अनुभव हो। अहिलेसम्म पनि पूरा कुरा बुझ्न सकेकी छैन,’ खेलपछि रूसोले भनिन्, ‘हामीलाई हाम्रो क्षमतामा पूरा विश्वास थियो र आज हामीले त्यो प्रदर्शन गर्यौं।’
लन्डन क्लबले दोस्रो हाफको पहिलो १५ मिनेटमै तीन गोल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। आर्सनले फाइनल प्रवेश गर्न अब आठ पटकको च्याम्पियन लियोनसँग कठिन प्रतिस्पर्धा गर्नेछन्।
रूसोले दोस्रो हाफ सुरु भएको एक मिनेटमै पहिलो गोल गरिन्। उनले क्लोए केलीको उत्कृष्ट क्रसलाई सहजै पोस्टभित्र पठाइन्। त्यसको तीन मिनेटपछि मारिओना काल्डेन्टेले तीन मिनेटपछि अर्को गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाइन्।
रूसोले खेलको ५९औं मिनेटमा दोस्रो गोल गर्दै सानदार हाफ भली प्रहार गरिन्। योसँगै समग्र स्कोरमा आर्सनललाई अग्रता दिलायो। उनले ह्याट्रिक पूरा गर्ने प्रयास गरेपनि दुई गोल अफसाइड घोषित भए।
रियलले पहिलो हाफमा राम्रो प्रतिरक्षा गर्दै केही राम्रो मौका पनि बनायो। फिलिपा एन्जेल्डलको प्रहारलाई आर्सनलकी गोलकिपर डाफ्ने भान डोम्सेलारले उत्कृष्ट बचाउ गरिन्। लिन्डा कैसिडोको स्टपेज टाइम प्रयासले खेललाई अतिरिक्त समयमा धकेल्ने सम्भावना थियो। तर, भान डोम्सेलारले फेरि उत्कृष्ट बचाउ गरिन्।
रियलले पहिलो पटक युरोपेली सेमिफाइनल पुग्ने मौका गुमाएको हो। पहिलो हाफमा आर्सनलले राम्रै दबाब दिएको थियो। तर, काल्डेन्टे र केटलिन फोर्डले केही सुनौलो अवसर गुमाए।
‘हामीले पहिलो हाफमा राम्रो खेलेका थियौं। टिमको लय राम्रो थियो, हामीले अट्याकिङ थर्डमा अलिकति धैर्य राख्नुपर्ने थियो,’ रूसोले भनिन्, ‘क्लोएले उत्कृष्ट क्रस दिँदा पहिलो दुई गोल सेट गर्यौं। हामीले अझै धेरै गोल गर्न सक्नुपर्ने थियो, तर महत्त्वपूर्ण कुरा जित हो।’