काठमाडौं। लिओनल मेसी आगामी विश्वकप खेल्ने वा नखेल्ने विषय अन्योलमै छ। तर, यही बेला साबिक विजेता अर्जेन्टिनाले उनीबिना पनि सफलता हासिल गर्न सक्छ भनेर प्रमाणित गरेको छ।
अर्जेन्टिना विश्वकपमा छनोट भएपछि अहिलेको मुख्य प्रश्न भनेकै ३७ वर्षीय स्टार मेसी आफ्नो छैटौं विश्वकप खेल्छन् कि खेल्दैनन् भन्ने हो। यसमा टोलीका प्रशिक्षक तथा उनकै पूर्वसहकर्मी लिओनल स्कालोनी पनि अझै स्पष्ट भइसकेका छैनन्।
भन्छन्,‘हेरौं, अझै धेरै समय छ। हामी एक खेलपछि अर्को खेलमा केन्द्रीत हुने छौं। मेसीको विषयमा वर्षभरि कुरा गर्न आवश्यक छैन। उनलाई स्वतन्त्र छोड्नुपर्छ। उनले जब चाहन्छन्, निर्णय लिनेछौं।’
अर्जेन्टिनाले मंगलबार विश्वकपमा आफ्नो स्थान सुनिश्चित गरेको थियो। त्यसको केही घण्टापछि नै ब्राजिललाई विश्वकप छनोट इतिहासकै सबैभन्दा ठूलो हार ४–१ को हार चखायो। त्यो खेलभन्दा केही दिनअघि अर्जेन्टिनाले उरुग्वेमाथि १–० को जित दर्ता गरिसकेको थियो।
यी दुबै जित अर्जेन्टिनाले मेसीबिना नै हासिल गरेको हो। आठ पटकका बालोन डि’ओर विजेता मेसी ‘एडडक्टर’ मांसपेशीको चोटका कारण टोलीबाट बाहिर थिए।
उनले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कतार विश्वकप २०२२ जिताएका थिए। तर, हालै उनी अमेरिकी सकर लिग (एमएलएस) क्लब इन्टर मियामीबाट खेल्दा चोटका कारण पटक–पटक मैदानबाहिर रहनु परेको छ। अर्जेन्टिनी टोलीका खेलाडीहरू भने मेसीको पुनरागमनको आशा अझै बाँकी रहेको बताउँछन्।
‘मेसी भएको भए हामीले दुई वा तीन गोल अझै थप्न सक्थ्यौं,’ ब्राजिलविरुद्ध गोल गरेका फरवार्ड जुलियन अल्भारेजले भने। बोलिभियाले मंगलबार उरुग्वेलाई हराउन नसक्दा अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटमा ३१ अंक बनाउँदै अमेरिका, क्यानडा र मेक्सिकोको सह–आयोजनामा हुने ४८ टिम सहभागी हुने विश्वकपमा सिधैं स्थान बनाएको छ।
मंगलबार मोनुमेन्टल डे नुनेज रंगशालामा ब्राजिलविरुद्धको सानदार जितपछि मिडफिल्डर रोड्रिगो डि पउलले भने, ‘हाम्रो टिमको सबैभन्दा राम्रो रूप तब देखिन्छ जब १० नम्बर जर्सी भएका खेलाडी (मेसी) मैदानमा हुन्छन्। किनभने उनी इतिहासकै महान् खेलाडी हुन्।’