बुटवल। युवराज खड्काले इन्जुरी समयमा गोल गरेसँगै विभागीय टोली एपिएफ क्लब २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले संकटा क्लबलाई १–० ले हराएको हो।
योसँगै एपिएफले कम्तीमा ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ पक्का गरेको छ। अब एपिएफले उपाधिका लागि ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्ने पक्का भएको छ।
यी दुईबीचको दोस्रो सेमिफाइनल बिहीबार अपरान्ह्र ४ बजे हुने तय छ। उक्त खेलको प्रत्यक्ष प्रसारण खेलपाटी टिभी (युट्युब) मार्फत हुनेछ।
दुवै टोलीले पहिलो हाफमा केही अवसर बुने पनि सदुपयोग गर्न सकेनन्। दोस्रो हाफको निर्धारित ४५ मिनेटपनि दुवै टोलीले खेर फ्याँकेका थिए। त्यसपछि खेल बराबरी हुँदै टाइब्रेकरउन्मुख भइरहेको थियो। तर, थप गरिएको ६ मिनेटको इन्जुरी समयलाई एपिएफले सदुपयोग गर्यो।
९४औं मिनेटमा युवराजले दिएको बललाई सुजन पुलामी एक्लैले पेनाल्टी बक्सनजिक पुर्याएर लामो प्रहार गरेका थिए। तर, उक्त प्रहार संकटाका गोलकिपर विशाल केसीले राम्रोसँग नियन्त्रण लिन सकेनन्।
रिबाउन्डमा आएको उक्त बललाई नै युवराजले गोल गर्दै एपिएफलाई अन्तिम समयमा जित दिलाएका हुन्। एपिएफले पहिलो क्वार्टरफाइनलमा आयोजक रुपन्देही–११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
संकटाले भने तेस्रो क्वार्टरफाइनलमा जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई ४–० ले पाखा लगाउँदै एपिएफसँगको भेट पक्का गरेको थियो। खेलको ‘म्यान अफ द म्याच’ युवराज नै घोषित भए र ११ हजार १११ रुपैयाँ हात पारे।