काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त भएका छन्।
साफ कार्यकारी समितिले कट्टेललाई महासचिवमा नियुक्त गरेको हो। उनले अन्वरुल हकको राजीनामापछि उक्त पद सम्हाल्न लागेका हुन्। हकले सन् २०१५ देखि महासचिवको रूपमा कार्यभार सम्हालेका थिए। उनले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्।
शासन व्यवस्था (गभर्नेन्स) को विषयमा विशेषज्ञता राख्ने कट्टेलले अप्रिल १ देखि औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्। साफमा जिम्मेवारी सम्हाल्नुअघि उनी एसियाली फुटबल महासंघ (एएफसी) मा दक्षिण एसियाली युनिट प्रमुखको रूपमा १७ वर्षसम्म कार्यरत थिए।
नेपालका नागरिक रहेका कट्टेलले लामो समयदेखि फुटबल प्रशासनमा अनुभव बटुलेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थापकको रूपमा गभर्नेन्ससम्बन्धी मुद्दा व्यवस्थापनदेखि लिएर एसियाभरिका विभिन्न प्रतियोगिताहरू सम्हाल्नेसम्मको भूमिकामा उनी क्रियाशील थिए।
‘साफको महासचिवको रूपमा नियुक्त हुन पाउँदा म अत्यन्तै हर्षित छु। यो मेरो लागि ठूलो अवसर मात्र नभई चुनौती पनि हो। मैले आफ्नो फुटबल करियर सुरु गरेदेखि नै दक्षिण एसियाली फुटबललाई नजिकबाट नियाल्दै आएको छु। यो क्षेत्र चुनौतीपूर्ण भए पनि द्रुत गतिमा विकास हुँदैछ र अपार सम्भावना बोकेको छ। म विश्वस्त छु कि भविष्य उज्ज्वल रहनेछ,’ उनले भने।
उनले थपे, ‘म महासंघका अध्यक्ष काजी सालाहुद्दिन तथा कार्यकारी समिति सदस्यहरूलाई ममाथि विश्वास राखी यो जिम्मेवारी सुम्पिनुभएकोमा धन्यवाद दिन चाहन्छु। साथै दक्षिण एसियाली फुटबलमा दिएको अतुलनीय योगदानका लागि अन्वरुल हकलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। फुटबलप्रतिको उहाँको सेवाको उच्च कदर गर्नुपर्छ।’