काठमाडौं। स्पेनी युवा खेलाडी लामिन यमलले नेदरल्यान्ड्सका पूर्वखेलाडी राफाएल भान डेर वार्टको आलोचनाप्रति असन्तुष्टि जनाएका छन्।
यमलले आइतबार भएको नेसन्स लिगको क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई जित दिलाएका थिए।
पेनाल्टी सुटआउटपछि १७ वर्षीय यमलले आफ्नो जर्सी हल्का तानेर भान डेर वार्टलाई जवाफ दिएका थिए। डच टेलिभिजनमा विश्लेश्कका रूपमा रहेका भान डेर वार्टले पहिलो लेगको २–२ बराबरीमा यमलको खेलभावनामा प्रश्न उठाएका थिए।
भान डेर वार्टले यमलमा प्रेरणा अभाव देखिएको भन्दै उनको खेल्ने शैलीमा बेपरवाहपना रहेको बताएका थिए। उनले यमलले जर्सी तल झारेर खेल्ने बानीलाई आलोचना गर्दै डच डिफेन्डर जोरेल हातोसँगको प्रतिस्पर्धामा उनी पराजित भएको दाबी गरेका थिए।
यमलका टिममेट निको विलियम्सले पनि खेलपछि सुटआउट जितको खुसीयालीमा यमलसँगै आफ्नो जर्सी तल झारेका थिए।
इन्स्टाग्राममा जवाफ
यमलले इन्स्टाग्राममा विलियम्ससँगको तस्बिरसहित भान डेर वार्टका तस्बिरहरू पोस्ट गर्दै हाँसोका इमोजी राखे। उनले लेखेका छन्, ‘जर्सी तल, एक गोल, एक मिस पेनाल्टी र सेमिफाइनलमा प्रवेश।’
उनको पोस्टमा स्पेनका खेलाडीहरूको उत्सव मनाइरहेको तस्बिरसमेत समावेश थियो। यस खेलमा यमलले अतिरिक्त समयमा गोल गरेका थिए। तर, पेनाल्टी सुटआउटमा स्पेनका लागि एक मात्र मिस गरे। स्पेनले ५–४ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो।
बार्सिलोनाका अर्का खेलाडी फेरान टोरेसले यामलको पोस्टमा समर्थन जनाउँदै कमेन्ट गरेका थिए। भान डेर वार्ट सन् २००८–१० मा रियल मड्रिडका खेलाडी थिए र २००० को दशकमा नेदरल्यान्ड्सका लागि १०० भन्दा बढी खेल खेलेका थिए।
गत संस्करणको विजेता स्पेन लगातार दोस्रो नेसन्स लिग उपाधि जित्ने प्रयासमा छ।