काठमाडौं। सानदार पुनरागनसहित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुआत गरेको छ। सोमबार सम्पन्न खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई एक विकेटले पराजित गरेको हो।
लखनउले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले अन्तिम तीन बल बाँकी रहँदा नौ विकेट गुमाउँदै २११ रन बनाएको हो।
दिल्लीले दोस्रोपल्ट सर्वाधिक सफल ‘रन चेज’ गरेको हो। यसअघि सन् २०१७ मा गुजरात लायन्सविरुद्ध २०९ रनको सफल ‘रन चेज’ गरेको थियो।
अन्तिम चार बलमा लखनउलाई चार रन नै चाहिएको थियो। आशुतोष शर्माले शहबाज अहमदको बलमा छक्का प्रहार गर्दै टोलीको जित सुनिश्चित गरेका हुन्।
६.४ ओभरमा दिल्लीले ६५ रन बनाउँदा नै पाँच विकेट गुमाइसकेको थियो। ओपनर ज्याक फ्रसेर एक, अभिषेक पोरेल शून्य, समीर रिज्वी चार, कप्तान अक्षर पटेल २२ र फाफ डुप्लेसिस २९ रनमा आउट भएका थिए।
तर, हारनजिक पुगेको लखनउलाई ‘इम्प्याक्ट प्लेयर’ को रूपमा आएका आशुतोषले उद्दार मात्रै गरेनन्, जित पनि दिलाए। उनले सातौं विकेटका लागि ट्रिस्टन स्टुब्ससँग ३५ बलमा ४५ रनको साझेदारी गरे।
२२ बल खेलेका स्टुब्स १२.३ ओभरमा ३४ रनमा मनिमारन सिद्धार्थबाट बोल्ड भए। यद्यपि, आशुतोषले बिपराज निगमसँग २२ बलमा ५५ अर्को विशाल साझेदारी गरे। बिपराज ३९ रनमा क्याच आउट भए। यो इनिङ्स नै म्याचको ‘टर्निङ पोइन्ट’ बन्यो।
तल्लोक्रमका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसके पनि आशुतोष अन्तिमसम्म कृजमा रहेर अविजित ६६ रनको इनिङ्स खेल्दै दिल्लीलाई जित दिलाए।
३१ बल खेलेका आशुतोषले पाँच चौका र पाँच छक्का प्रहार गरे। दिल्लीका शर्दुल ठाकुर, सिद्धार्थ, दिग्भेष राठी र रवी विश्नोइले समान दुई विकेट लिए।
त्यसअघि राजशेखर रेड्डी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०९ रन बनाएको थियो।
लखनउका पुनरले सर्वाधिक ७५ रन बनाए। ३० बल खेलेका उनले ६ चौका र सात छक्का प्रहार गरे। मार्शले ३६ बलमा ६ चौका र ६ छक्कासहित ७२ रन बनाए।
यी दुईबीच दोस्रो विकेटका लागि ४२ बलमा ८७ रनको विशाल साझेदारी भएको थियो। मार्श ११.४ ओभरमा मुकेश कुमारको बलमा स्टुब्सबाट क्याच आउट भए।
एडेन मारक्रम १५ रनमा आउट हुँदा डेभिड मिलर २७ रनमा अविजित रहे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
दिल्लीका मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए। कुलदीप यादवले दुई तथा बिपराज र मुकेशको नाममा समान एक विकेट रह्यो।