काठमाडौं। १९ वर्षीय अर्जुन कुमालको शतकसँगै गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्धको खेल टाइ गरेको छ।
मधेशले दिएको २४७ रनको लक्ष्य पछ्याएको गण्डकीले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन बनाएको हो। गण्डकीलाई जितका लागि अन्तिम दुई बलमा दुई रन चाहिएको थियो।
तर, गण्डकीका सन्दीप पराजुली वाइड बलमा रन आउट भएपछि मधेश हारबाट जोगियो र खेल सुपर ओभरमा पुग्यो। गण्डकीका अर्जुनले सर्वाधिक १०६ रन बनाए। १४० बल खेलेका उनले १० चौका र एक छक्का प्रहार गरे।
दीनेश बूढामगर ३४ र कप्तान विपिन खत्री २६ रनमा आउट हुँदा सुदीप अर्याल ३४ रनमा अविजित रहे। मधेशका विशाल पटेलले सर्वाधिक चार विकेट लिए।
त्यसअघि भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले सात विकेट गुमाउँदै २४६ रन बनाएको थियो।
मधेशका रोहन विकले सर्वाधिक ६४ रन बनाए। ९८ बल खेलेका उनले ६ चौका र तीन छक्का प्रहार गरे। हरिशंकर शाह ५१ र पवन सर्राफ ३३ रनमा आउट हुँदा रुपेश सिंह ५१ रनमा अविजित रहे।
गण्डकीका विपिन खत्री र कमल परियारले समान दुई विकेट लिए।