काठमाडौं। लुम्बिनी प्रदेशमाथि सहज जित निकाल्दै विभागीय टोली एपिएफले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल्ने सम्भावना जिवितै राखेको छ।
सोमबार सम्पन्न खेलमा एपिएफले लुम्बिनीलाई सात विकेटले पराजतित गरेको हो। जितसँगै एपिएफले आठ खेलबाट १२ अंक पुर्याएको छ। यद्यपि, एपिएफ शीर्ष दुईका नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग दुई अंकले पछि परेको छ।
यी दुई टोलीको १४ अंक छ। यद्यपि, पुलिसले आर्मी र एपिएफभन्दा एक खेल कम खेलेको छ। प्रतियोगिताबाट बाहिरिइसकेको लुम्बिनीको भने आठ खेलबाट आठ अंक मात्रै छ।
लुम्बिनीले दिएको २२४ रनको लक्ष्य एपिएफले ४१.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो। एपिएफको जितमा पूर्ण विकले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए। ११२ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे।
कप्तान रोहितकुमार पौडेलले भने उनीभन्दा एक रन कममा समेटिए। ९१ बल खेलेका रोहितले सात चौकासहित ७१ रन बनाए।
२२ वर्षीय रोहित पछिल्ला सात इनिङ्स चल्न सकेका थिएनन्। उनको उच्च स्कोर नै २२ रन थियो। उनले यो स्कोर पनि कर्णाली प्रदेशविरुद्ध बनाएका हुन्। उनले यी सात इनिङ्समा ७२ रन मात्रै बनाउन सकेका थिए।
तर, आठौं खेलमा लुम्बिनीविरुद्ध पुनरागमन गर्न उनी सफल रहे। लोकेश बम २१ र आसिफ शेख १८ रनमा आउट हुँदा सन्दीप जोरा २१ रनमा अविजित रहे।
लुम्बिनीका राजेन्द्र बमले तीन विकेट लिए।