काठमाडौं। रिजन ढकाल र सूर्य तामाङको घातक बलिङसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा सहज जित हात पारेको छ।
सोमबार सम्पन्न खेलमा बागमतीले कर्णाली प्रदेशलाई नौ विकेटले पराजित गरेको हो। जितसँगै बागमतीले आठ खेलबाट आठ अंक पुर्याएको छ। कर्णालीको समान खेलबाट समान अंक छ।
कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले ६.३ ओभरमा एक विकेट गुमाउँदै ६२ रन बनायो। बागमतीका ईशान पाण्डेले सर्वाधिक २२ रन बनाए। ११ बल खेलेका उनले दुई चौका र एक छक्का प्रहार गरे। ओपनर आषुतोष घिरौया १९ र शुभ कंशाकार १६ रनमा अविजित रहे। कर्णालीका दीपेन्द्र रावतको नाममा एक विकेट रह्यो।
त्यसअघि दाङको देउखुरी अन्तर्राष्ट्रिय रंगशालामा जितेर ब्याटिङ थालेको कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन बनायो। कर्णालीले प्रधानमन्त्री कपमा बनाएको यो दोस्रो सबैभन्दा कम योगफल हो।
यसअघि कर्णालीले २०१९ मा कोशी प्रदेशविरुद्ध भएको खेलमा २०.१ ओभर ब्याटिङ गर्दै ४७ रन बनाएको थियो। कर्णालीका सुनील धमालाले सर्वाधिक १५ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बागमतीका रिजनले सर्वाधिक पाँच विकेट लिए। ८.१ ओभर बलिङ गरेका उनले एक मेडनसहित १९ रन खर्चिए। सात ओभर बलिङ गर्दै दुई मेडनसहित १७ रन खर्चिएका सूर्यको हातमा चार विकेट रह्यो।