काठमाडौं। ओपनर रचिन रवीन्द्र र कप्तान ऋतुराज गयकवाडको अर्धशतकसँगै चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोमाञ्चक जित निकालेको छ।
आइतबार सम्पन्न खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई पहिलो खेलमै चार विकेटले पराजित गरेको हो। मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनायो।
चेन्नईलाई जितका लागि अन्तिम ६ बलमा चार रन चाहिएको थियो। तर, रचिनले मिचेल सान्टनेरको बलमा छक्का प्रहार गर्दै पाँच बल अगाडि नै जित दिलाए।
चेन्नईका रचिनले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले दुई चौका र चार छक्का प्रहार गरे। ऋतुराजले २६ बलमा ६ चौका र तीन छक्कासहित ५३ रनको आक्रामक इनिङ्स खेले। रवीन्द्र जडेजा १७ रनमा आउट भए।
महेन्द्रसिंह धोनी आठौं नम्बरमा आएका थिए। तर, दुई बल खेले पनि रन बनाउन सकेनन्। उनी अविजित रहे। अन्य ब्याटर चल्न सकेनन्।
मुम्बईका बिग्रेस पुथुरले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। दीपक चाहर र विल ज्याक्सको नाममा समान एक विकेट रह्यो।
त्यसअघि एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन मात्रै बनाउन सक्यो।
अहमदले ओपनर रोहित शर्मालाई शून्य र रियान रिकेल्टनलाई १३ रनमै आउट गरेपछि चेन्नईले खेलमा पकड जमाएको थियो।
मुम्बईका तिलक बर्माले सर्वाधिक ३१ रन बनाए। दीपक चाहर २८ रनमा अविजित रहँदा कप्तान सूर्यकुमार यादव २९, नमन धर १७ रनमा आउट भए। अन्यले राम्रो ब्याटिङ गर्न सकेनन्।
चेन्नईका नूर अहमदले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले १८ रन खर्चिए। खलिल अहमदले तीन विकेट लिँदा नाथन इलिस र रविचन्द्र अश्विनको नाममा समान एक विकेट रह्यो।