काठमाडौं। मधेश प्रदेशसँग अपत्याशित हार बेहोरेको विभागीय टोलीले त्रिभुवन आर्मी क्लबले गण्डकीमाथि जित निकाल्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पुनरागमन गरेका छन्।
देब्रेहाते स्पिनर शाहब आलमले पाँच विकेट लिएसँगै शुक्रबार सम्पन्न खेलमा गण्डकीमाथि आर्मीले ६ विकेटको सहज जित निकालेको हो। जितसँगै आर्मीले सात खेलबाट १२ अंक पुर्याएको छ।
यद्यपि, साबिक विजेता नेपाल पुलिस क्लबसँग आर्मी दुई अंकले पछि परेको छ। शीर्ष स्थानको पुलिसको समान खेलबाट १४ अंक छ।
गण्डकी भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ। पुछारको गण्डकीको सात खेलबाट दुई अंक छ। गण्डकीले प्रस्तुत गरेको ११७ रनको लक्ष्य आर्मीले २६.५ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो।
आर्मीका ओपनर त्रितराज दासले सर्वाधिक ३७ रन बनाए। ६८ बल खेलेका उनले तीन चौका प्रहार गरे। भीम सार्की १४ र इमरान शेख १२ रनमा आउट हुँदा बसिर अहमद ३२ र सोमपाल कामी १० रनमा अविजित रहे।
गण्डकीका चन्द्र पौडेल, विपिन खत्री, सुवास भण्डारी र सुदीप अर्यालले समान एक विकेट लिए।
त्यसअघि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गण्डकीले ३०.३ ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार गरेको थियो।
गण्डकीका ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाए। ४९ बल खेलेका उनले चार चौका प्रहार गरे। दीपक डुम्रे १९, कमल परियार १७ र कप्तान विपिन खत्री १५ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।
शाहब आलमले सर्वाधिक पाँच विकेट लिए। १० ओभर बलिङ गरेका उनले एक मेडनसहित ४२ रन खर्चिए। कुशल मल्ल र नरेन साउदको नाममा समान दुई विकेट रह्यो।