काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो हार बेहोरेको छ।
बुधबार सम्पन्न खेलमा मधेश प्रदेशले आर्मीलाई तीन विकेटले पराजित गरेको हो।
जितसँगै मधेशले पाँच खेलबाट चार अंक पुर्याएको छ। पराजित आर्मीले भने शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ। दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलबाट १० अंक छ।
आर्मीले दिएको २१८ रनको लक्ष्य पछ्याएको मधेशले १२ बल बाँकी रहँदा सात विकेट गुमाउँदै २१९ रन बनायो। मधेशा कप्तान अनिलकुमार साहले सर्वाधिक ४५ रन बनाए। ४८ बल खेलेका उनले सात चौका प्रहार गरे।
हरिशंकर साह तथा पवन सर्राफ समान ३७, शैलेन्द्र साह १५ रनमा आउट हुँदा निखिल सिंह १४ र रुपेश सिंह ३८ रनमा अविजित रहे।
आर्मीका नरेन साउदले सर्वाधिक तीन विकेट लिए। १० ओभर बलिङ गरेका उनले ५४ रन खर्चिए। बसिर अहमद र सोमपाल कामीको नाममा समान दुई विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २१७ रन बनायो। भीम सार्कीले सर्वाधिक ८९ रन बनाए। १२६ बल खेलेका उनले चार चौका प्रहार गरे।
सन्तोष कार्की ३३, विवेककुमार यादव १६, तृतराज दास १४, विनोद भण्डारी ११ र बसिर अहमद १० रनमा आउट हुँदा नरेन साउद आठ रनमा अविजित रहे।
मधेशका रुपेश, पवन र कमल गुप्ताले समान दुई विकेट लिए। रञ्जित कुमारको नाममा एक विकेट रह्यो।