काठमाडौं। किरण ठगुन्नाको सानदार ब्याटिङ र हेमन्त धामीको घातक बलिङसँगै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ।
बुधबार सम्पन्न खेलमा सुदूरले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको हो। जितसँगै सुदूरले ६ खेलबाट चार अंक पुर्याएको छ।
तेस्रो स्थानको लुम्बिनीको भने यो दोस्रो हार हो। लुम्बिनीको समान खेलबाट आठ अंक छ। लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरले ३१.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो।
सुदूरलाई जित दिलाउन किरणले सर्वाधिक ४३ रन बनाए। ४३ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे। प्रकाश पाण्डे २२ तथा खड्का बोहरा ११ रनमा आउट हुँदा कप्तान नारायण जोशी २५ रनमा अविजित रहे।
लुम्बिनीका रमेश कुर्मीले सर्वाधिक दुई विकेट लिए। त्यसअघि पहिला ब्याटिङ थालेको लुम्बिनीले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो।
लुम्बिनीका कप्तान देव खनालले सर्वाधिक ४१ रन बनाए। ७१ बल खेलेका उनले चार चौका प्रहार गरे। प्रज्ज्वल थापा ३० रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन।
सुदूरका हेमन्तले सर्वाधिक चार विकेट लिए। नौ ओभर बलिङ गरेका उनले एक मेडनसहित २६ रन खर्चिए। सौर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहराको नाममा समान दुई विकेट रह्यो।