काठमाडौं। स्पिनर ललितनारायण राजवंशीले लगातार उत्कृष्ट प्रदर्शन गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा छैटौं जित हात पारेको छ।
बुधबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई सात विकेटले पाखा लगाएको हो। जितसँगै शीर्ष स्थानको पुलिसले ६ खेलबाट १२ अंक पुर्याएको छ।
गण्डकी भने समान खेलबाट दुई अंकसहित पुछारमा छ। ललितले लगातार पाँचौंपल्ट पाँच विकेट हल लिएपछि गण्डकी ९२ रनमै समेटिएको थियो।
५.२ ओभर बलिङ गरेका उनले दुई मेडनसहित सात रन खर्चिएर पाँच विकेट हल लिए। यसअघि उनले सुदूरपश्चिम प्रदेशविरुद्ध ६, मधेश प्रदेशविरुद्ध पाँच र एपिएफसँग ६ विकेट लिएका थिए।
ललित जारी प्रतियोगितामा सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। उनले ६ इनिङ्समा २६ विकेट लिइसकेका छन्।
उनीबाहेक गुल्सनकुमार झाले चार विकेट लिएसँगै पुलिसले ९३ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याएको पुलिसले १६ ओभरमा तीन विकेट गुमाउँदै ९४ रन बनाएको हो।
पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए। २३ बल खेलेका उनले तीन चौका र ६ छक्काको आक्रमक इनिङ्स खेले
अर्जुन साउद १८ रनमा आउट हुँदा दीलिप नाथ १० रनमा अविजित रहे। गण्डकीका विपिन खत्री र सुवास भण्डारीले समान एक विकेट लिए।