काठमाडौं। फाफ डु प्लेसिसले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा दिल्ली क्यापिटल्सको उपकप्तानी गर्ने भएका छन्।
डु प्लेसिस २०२४ को आइपिएलको अन्त्यसम्म रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान थिए। तर, गत वर्ष मेगा अक्सनअघि उनलाई बैंग्लोरले रिलिज गरेको थियो। त्यसपछि दिल्लीले उनलाई दुई करोड भारूको आधार मूल्यमा किन्यो।
यस वर्ष अनुबन्ध भएका र पूर्वआइपिएल कप्तान पनि रहेका केएल राहुललाई भन्दा दिल्लीले डु प्लेसिसलाई प्राथमिकता दिएको छ।
दिल्लीको कप्तानी भने अक्षर पटेलले गर्नेछन्। डु प्लेसिस सबै फर्म्याटका दक्षिण अफ्रिकाका पूर्वकप्तान हुन्। उनी सन् २०१२ मा पहिलो पटक आइपिएलको हिस्सा बनेका थिए। त्यसपछि चेन्नाई सुपर किंग्सले उनलाई आफ्नो टोलीमा समावेश गर्यो।
उनी सन् २०१५ सम्म चेन्नाईमा रहे। त्यसपछि दुई सिजन (जब चेन्नाई प्रतिबन्धित थियो) राइजिङ पुणे सुपर जायन्ट्सबाट खेले।
त्यसपछि उनी फेरि चेन्नाई टोलीसँगै रहे। सन् २०२२ को अक्सनमा बैंग्लोरले उनलाई किनेको थियो। विराट कोहलीले कप्तानीबाट राजीनामा दिएपछि डु प्लेसिसले उक्त जिम्मेवारी पाएका थिए।
उनले तीन सिजनसम्म बैंग्लोरको कप्तानी गरे। सन् २०२२ र २०२४ मा टोलीलाई प्लेअफमा पुर्याए। तर, अहिलेसम्म उपाधि जित्न सकेका छैनन्, जुन उपाधि बैंग्लोरले पछिल्ला १७ सिजनदेखि जित्ने प्रयास गरिरहेको छ।
आइपिएलमा हालसम्म ४० वर्षीय डु प्लेसिसले १४५ खेलमा ३५.९९ को औसत र १३६.३७ को स्ट्राइक रेटमा चार हजार ५७१ रन बनाएका छन्। उनी अझै पनि फ्रान्चाइज क्रिकेटमा सक्रिय छन् र यस वर्ष एसए २० मा जोबर्ग सुपर किंग्सबाट खेलेका थिए।