काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठको सहभागिता अवैधानिक रहेको ठहर गरेको छ।
पाकिस्तानको लाहोरमा गत मंगलबार एसएओसीको बैठक बसेको थियो। बैठकले १४औं दक्षिण एसियाली खेलकुद (साग) सन् २०२६ जनवरी २३ देखि ३१ तारिख सम्म पाकिस्तानको लाहोरमा आयोजना गर्ने निर्णय गरेको एनओसीले विभिन्न सञ्चारमाध्यमलाई मेल पठाएको थियो।
बैठकले गरेको निर्णय सञ्चारमाध्यमबाटै थाहा भएको राखेपले शुक्रबार विज्ञप्ति निकाल्दै बताएको छ। तर, एनओसीको नाममा जीवनराम बैठकमा सहभागी हुनु अवैधानिक रहेको राखेपको जिकिर छ।
‘एनओसीको नाममा विधान संशोधन र निर्वाचनका सम्बन्धमा सर्वोच्च र पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेकोले एनओसीको हैसियतले भाग लिने कुरा अदालतको आदेशविपरीत छ । एनओसीको नामबाट देशको सहभागिता हुने विषयमा भाग लिने वा कुनै निर्णय गर्ने कुरा पूर्णतः अवैधानिक हो,’ राखेपले भनेको छ।
साथै युवा तथा खेलकुद मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) सँग समन्वय गरी यी सबै विषयको जानकारीसहित ठोस समाधानका लागि पहल भइरहेको राखेपले जनाएको छ।