काठमाडौं। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार खेल तालिका सार्वजनिक गर्दै एक्स्ट्राटेकमा पनि प्रतियोगिता गराउने जानकारी दिएको हो। लुम्बिनी प्रदेशका विभन्न स्थानमा हुने प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म हुनेछ।
प्रतियोगितामा कोशी, मधेश, बागमती, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशले सहभागिता जनाउने छन्। यस्तै, तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफले पनि सहभागिता जनाउने छन्।
क्यानका अनुसार यसपल्ट भैरहवाको सिद्धार्थ रंगशाला, रुपन्देहीको तिलोत्तमाको एक्स्ट्राटेक र दाङको लमही अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताका खेल सञ्चालन गरिनेछ। एक्स्ट्राटेकमा विभन्न प्रतियोगिता भइसकेको भए पनि सिनियरस्तरको भने पहिलोपल्ट हुन लागेको हो।
सिद्धार्थ रंगशालमा फाइनलसहित १७, एक्स्ट्राटेकमा १५ र लमहीमा १४ खेल हुनेछ। प्रतियोगिताको फाइनल खेल चैत १६ गते सिद्धार्थ रंगशालामा हुनेछ।