काठमाडौं। नेपालले जब सहज प्रतिद्वन्द्वीको सामना गर्छ तब नतिजा सोचेजस्तो हात नलागेपछि लाग्ने एकै आरोप हो– खेलाडी ‘सेलफिस’ भए।
इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको पहिलो खेलमा किर्गिस्तानविरुद्ध सोचेभन्दा विपरीत अर्थात् १–० को कठिन जित निकालेपछि पनि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोही आरोप दोहोर्याएका छन्।
उनी भन्छन्, ‘सहज गोलको अवसर थियो। तर, यसपल्ट पनि खेलाडीले गोलमा परिणत गर्न सकेनन्।’ सोमबार किर्गिस्तानको सामना गरेको नेपाली टोलीले तीन दिनको अन्तरालमा पुरानो प्रतिद्वन्द्वी लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। यो खेलमा पनि यस्तै कमजोर नतिजा दोहोरिए सम्भवत: खेलाडीमाथि यही ‘ट्याग’ लागिरहने छ। तर, टोलीका स्टार स्ट्राइकर सावित्रा भण्डारी भने साफ महिला च्याम्पियनसिपको भन्दा अहिले टिमको ‘बोन्डिङ’ राम्रो भएको दाबी गर्छिन्।
‘साफ र अहिलेको टोलीमा दुई खेलाडी (हीराकुमारी भुजेल र दीपा शाही)बाहेक सबै खेलाडी छौं। त्यसैले टिम बोन्डिङ राम्रो छ। हामीमा त्यस्तो खाले केही समस्या छैन। तर, केही कुरामा तालमेल मिलेको छैन,’ उनी भन्छिन्।
नेपालले साँझ ६ बजे लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। यी दुई टोली दोस्रोपल्ट आमुन्नेसामुन्ने हुन लागेका हुन्। गत वर्ष साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा यी दुई टोली पहिलोपल्ट भिडेका थिए।
उक्त खेलमा नेपालले २–१ को कठिन जित निकालेको थियो। त्यही हारको बदला लिन यसपल्ट लेबनानले काठमाडौंसम्मको लामो यात्रा तय गर्छ। सावित्रा लेबनान बलियो टोली भएको कारण सजग हुनुपर्ने बताउँछन्।