काठमाडौं। रेफ्रीमाथि अपमानजनक भाषा प्रयोग गरेको आरोपमा रियल मड्रिडका मिडफिल्डर जुड बेलिङघमलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ।
उनले ला लिगाअन्तर्गत ओसासुनाविरुद्धको खेलमा रेफ्रीमाथि अपमानजनक भाषा प्रयोग गरेका हुन्। उक्त खेलमा रियल १–१ को बराबरीमा रोकिएको थियो।
स्पेनिस फुटबल महासंघले बुधबार रेफ्री जोसे मुनेरा मोन्तेरोलाई बेलिङघमले अपमानजनक भाषा प्रयोग गरेको ठहर गरेको हो। २१ वर्षीय बेलिङघमलाई खेलको दौरान रातो कार्ड देखाउँदै मुनेराले मैदानबाट बाहिर पठाएका थिए।
यद्यपि, बेलिङघम र रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले रेफ्रीको निर्णय गलत रहेको दाबी गरेका थिए। तर, महासंघको अनुशासन समितिले भने उक्त निर्णयलाई कायम राख्दै रेफ्रीप्रति अपमानजनक वा सम्मानहीन व्यवहार गरेको भन्दै प्रतिबन्धको घोषणा गरेको हो।
रियलले उक्त निर्णयविरुद्ध अपिल गर्ने जनाएको छ। अपिल सफल भएका उनले जिरोना र बेटिसविरुद्धका खेल खेल्न पाउनेछन्।