आखिर के चाहन्छन् ग्वार्डिओला?

काठमाडौं। पेप ग्वार्डिओलाबाट उत्तरको खोजी अझै जारी छ। आखिर के चाहन्छन् उनी? तर, म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओला सहज उत्तर दिन्छन्– निरन्तरता !
उनको प्रशिक्षणमा रहेको सिटीले यो सिजन कुनै पनि प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकेको छैन। बुधबार नै भएको च्याम्पियन्स लिगमा पनि आफ्नो टोलीलाई सुरक्षित राख्ने उपाय उनले खोज्न सकेनन् र सिटी रियल मड्रिडसँग ३–१ ले पराजित भयो। योसँगै प्लेअफमा स्पेनिस क्लबसँग कुल ६–३ को हार भोग्दै सिटी प्रतियोगिताबाट बाहिरियो।
‘म अझै पनि सिटीलाई निरन्तरता दिन चाहन्छु,’ उनले भने। यस सिजनको सुरुआतमा उनले सिटीसँग दुई वर्षको सम्झौता थप गरेका थिए। तर, सम्झौता थप भएसँगै उनले सिटीको नयाँ युगको सुरु भइसकेको दाबी गरे। तर, त्यो युग सुरु नहुँदै अन्त्य हुने संघारमा पुगेको छ।
‘हामीले पहिले नै नयाँ चक्र सुरु गरिसकेका छौं, यो स्वाभाविक हो। कुनै पनि कुरा सधैंभरि रहँदैन। केही खेलाडीहरू अझै धेरै योगदान दिन सक्छन्। तर, हामीले सात सिजनमा ६ पटक प्रिमियर लिग जित्यौं, च्याम्पियन्स लिगको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलसम्म पुग्यौं भन्ने कुरा अस्वीकार गर्न सक्दैनौं, उनी भन्छन्, ‘यो पटक हामी निकै बलियो टोलीविरुद्ध खेल्यौं र उनीहरू हामीभन्दा राम्रो थिए।’
स्यान्टियागो बेर्नबेउ स्टेडियममा खेलको क्रममा रियल समर्थकहरूले व्यंग्य गर्दै ‘ग्वार्डिओला सिटीमै रहोस्’ भनेर नारा लगाए। खेलभरि ग्वार्डिओला कहिलेकाहीँ खेलाडीहरूलाई निर्देशन दिने कोसिस गरिरहेका थिए। तर, धेरै पटक निराश देखिए। कहिले खल्तीमा हालेर त कहिले हात बाँधेर उनी चुपचाप उभिए।
खेलको चौथो मिनेटमा किलियन एमबाप्पेले पहिलो गोल गर्दा उनी झोक्किए। ३३औं मिनेटमा एमबाप्पेले दोस्रो गोल थप्दा उनी केही समयका लागि आफ्नो बेन्चमा फर्किए। जब ६१औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे उनी निकै ढिला गरी ‘साइडलाइन’मा फर्किए।
पहिलो हाफमा गोलकिपर एडर्सन दबाबमा परे। उनले लामो पास दिएपछि ग्वार्डिओलाले ‘किन?’ भन्ने संकेत गर्दै आक्रोश व्यक्त गरे। खेल समाप्त भएपछि उनले रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई बधाई दिए र सिधै ड्रेसिङ रुमतर्फ लागे।
अघिल्लो आठ सिजनमा ग्वार्डिओलाले सम्हालेको टोली कहिल्यै अन्तिम १६ बाट बाहिरिन परेको थिएन। चाहे त्यो बार्सिलोनामा होस्, बायर्न म्युनिखमा होस् या सिटी नै किन नहोस्। सिटी पनि सन् २०१२–१३ पछि प्रत्येक पटक अन्तिम १६ पुग्दै आएको थियो।
‘यो वर्ष विभिन्न कारणले गर्दा हामीले स्थिरता गुमायौं। हामीले इङ्ल्यान्ड र युरोपमा केही ऐतिहासिक उपलब्धि हासिल गर्यौं। यसपल्ट हामी असफल भयौं,’ उनले भने।
यो सिजन च्याम्पियन लिगमा लिग चरणपछि प्लेअफ प्रणाली लागू भएको हो। योसँगै समयमै आफ्नो कमजोरी सुधार गर्ने मौका मिलेको थियो। तर, ग्वार्डिओला आफ्नो जिम्मेवारीमा चुक्दा प्रतियोगिताबाट छिट्टै बाहिरिन पर्यो।
लिग चरणमा खराब प्रदर्शनका कारण सिटीले प्लेअफ खेल्नुपरेको थियो, जहाँ उसको प्रतिद्वन्द्वी १५ पटकको च्याम्पियन रियल रह्यो।
‘सबैभन्दा राम्रो टोलीले जित्यो। हामीले धेरै खराब सिजन बितायौं। लिग चरणमा २२औं स्थानमा रहनु भनेको राम्रो खेलेनौं भन्ने संकेत हो,’ ग्वार्डिओला भन्छन्। सन् २०२३ मा सिटीलाई पहिलोपल्ट च्याम्पियन्स लिग जिताएका उनले टोलीको हालको स्तर पहिलाको भन्दा धेरै पर रहेको बताउँदै आएका छन्।
सिटी प्रिमियर लिगको २५ खेलपछि चौथो स्थानमा छ, लिभरपुलभन्दा १७ अंकले पछि। यो सिजन चोटका कारण ग्वार्डिओलाले थप समस्या भोग्नुपरेको छ। बुधबारको खेलमा एर्लिङ हालान्ड घुँडाको चोटका कारण सुरुआती ११ मा पर्न सकेनन्। जोन स्टोन्स खेल सुरु भएको १० मिनेटमै घाइते भएर मैदान छोड्न बाध्य भए।
विश्वकै उत्कृष्ट खेलाडी मानिएका रोड्री पनि घुँडाको चोटका कारण लगभग सिजनभर अनुपस्थित रहँदा सिटीले बल पोजिसनमा आफ्नो पकड गुमाएको छ। तर, रोड्री छिट्टै फर्किन सक्ने भएकाले ग्वार्डिओलाले बाँकी सिजनका लागि केही आशा जीवित राखेका छन्।
‘हामीले पाठ सिक्नुपर्छ, टोलीका लागि केही निर्णय लिनुपर्छ र शीर्ष ४ या शीर्ष ५ मा रहेर अर्को सिजन पुनः च्याम्पियन लिगमा फर्किने अवसर सुनिश्चित गर्नुपर्छ,’ ग्वार्डिओलाले भने।






-1763772456514.webp&w=3840&q=75)





-1763733911749.jpg&w=3840&q=75)
