भद्रपुर। आयोजक भद्रपुर ब्लेजर्स झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
भद्रपुरस्थित मेची रंगशाला बुधबार भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ ले पराजित गरेको हो। रोमाञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लोसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो।
खेलको ३९औं मिनेटमा भद्रपुरका स्ट्राइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो। सो बललाई भद्रपुरका कप्तान आशिष् चापागाईँले गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्याए।
४२औं मिनेटमा भद्रपुरका सत्तम शर्माले मैदानको मध्य भागबाट गोल गर्न सफल भए। दार्जिलिङका गोलरक्षक सिंहसँग वानटुवान स्थितिमा उनले गोल गरे।
५० औं मिनेटमा दार्जिलिङका प्रशान्त राईले पेनाल्टी एरियामा पाएको पासलाई गोलमा परिणत गर्दै अन्तर घटाए। त्यसकाे पाँच मिनेटपछि नयन प्रधानले अर्को गोल थपे। आशिष् देवानको क्रस पासमा पेनाल्टी एरियामा अनमार्क रहेका प्रधानले सुन्दर गोल गरे।
७०औं मिनेटमा दार्जिलिङका रूड गुलितले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए। ७२औं मिनेटमा विशाल दर्जीको क्रस पासमा प्रताप राईले गोल गर्दै भद्रपुरको जित सुनिश्चित गरे।