धनगढी। आयोजक गौरीगंगा ११ लाई पराजित गर्दै कर्णाली प्रदेश फुटबल एसोसिएसनले जय पृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
धनगढीको कैलालीस्थित गौरीगंगा ११ स्पोर्ट्स क्लबमा बुधबार सम्पन्न खेलमा कर्णालीले ३–१ को जित निकालेको हो। कर्णालीको जितमा विवेक बिसी, नवीन ओली र गणेश पुलामीले १/१ गोल गरे। गौरीगंगाका सुदीप सुनारले गरेको गोल सान्त्वना रह्यो। योसँगै कर्णाली अन्तिम चारमा प्रवेश गरेको छ। गौरीगंगा भने पहिलो खेलबाटै बाहिरिएको छ।
खेलमा सुरुआती अग्रता भने गौरीगंगाले लिएको थियो। सुदीपले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता कायम राख्न सकेन।
दोस्रो हाफमा कर्णालीले सुधारिएको प्रदर्शन गर्दै खेलमा पुनरागमन गर्न सफल भयो। ६३औं मिनेटमा विवेकले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि भने गौरीगंगा खेलमा सम्हालिन सकेन। नवीनले ७७औं मिनेटमा गोल गर्दै कर्णालीलाई २–१ को अग्रता दिलाए। दोस्रो हाफको इन्जुरीको समयको दोस्रो मिनेटमा गणेशले अर्को गोल थप्दै कर्णालीलाई अन्तिम चारमा पुर्याए।
कर्णालीले फाइनल प्रवेश गर्न अब मधेश प्रदेशको नव जागृती युवा क्लब र सुदूरपश्चिम फुटबल एसोसिएसनबीचको विजेतासँग खेल्नेछ। यी दुईबीचको खेल बिहीबार हुनेछ।
खेलको म्यान अफ द म्याच कर्णालीका नवीन रहे। प्रतियोगितामा आयोजक गौरीगंगा ११ र कर्णालीसँगै आठ टोली सहभागी छन्। यी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा गौरीगंगा ११ र कर्णालीसँगै नव जागृती र सुदूरपश्चिम छन्।
अर्को समूहमा गण्डकी प्रदेशको चोरमारा युथ क्लब, बागमती प्रदेशको लक्की स्टार क्लब, कोशी प्रदेशको गाईघाट फुटबल क्लब र लुम्बिनी प्रदेशको राइजिङ स्टार फुटबल क्लब छन्। प्रतियोगितामा हरेक क्लबले पहिलो जितपश्चात् सिधैं सेमिफाइनलमा स्थान बनाउने छन्। पहिलो सेमिफाइनल फागुन ११ र दोस्रो सेमिफाइनल फागुन १२ गते हुनेछ।
फाइनल भने फागुन १४ गते रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले साढे दुई लाख पाउने छन्। उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउने छन्। सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड र उदीयमान खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।