काठमाडौं। कमै मात्र कुनै खेलाडीको रातो कार्डले खेलमा यति ठूलो प्रभाव पारेको हुन्छ।
एसी मिलानका थियो हर्नान्डेज दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फेयेनोर्ड मंगलबार च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्न सफल भयो। मंगलबार भएको प्लेअफको दोस्रो लेग १–१ को बराबरीमा सकिँदा डच टोलीले समग्रमा २–१ को जित हासिल गर्यो।
बायर्न म्युनिख, क्लब ब्रुग र बेन्फिकाले पनि प्लेअफ जित्दै क्रमशः सेल्टिक, युरोपा लिग विजेता अटलान्टा र फ्रेन्च टोली मोनाकोलाई प्रतियोगिताबाट बाहिर निकाले।
‘फुटबलमा सबै कुरा एक सेकेन्डमै परिवर्तन हुन सक्छ,’ मिलानका फरवार्ड सान्टियागो गिमेनेजले भने। उनले आफ्नो पूर्वक्लब फेयेनोर्डविरुद्ध पहिलो मिनेटमै प्रतियोगिताको सबैभन्दा छिटो गोल गरेका थिए।
हर्नान्डेज ५१औं मिनेटमा ‘डाइभिङ’ गरेको आरोपमा दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मिलानले आफ्नो पकड गुमायो। पहिलो लेग १–० ले जितेको फेयेनोर्डका लागि यो खेल निर्णायक बन्यो।
तर, मिलानको रक्षा कमजोर देखियो। विशेष गरी जब रेफ्री सिज्मोन मार्सिनिएकले हर्नान्डेजलाई दोस्रो पहेंलो कार्ड देखाए। फ्रान्सेली डिफेन्डरले पहिलो हाफअघि आफ्ना टोलीका साथी जोआओ फेलिक्समाथि फाउल भएको भन्दै रिसाउँदै एक फेयेनोर्ड खेलाडीलाई धकेलेका थिए। फलत: पहिलो पहेंलो कार्ड पाएका थिए।
७३औं मिनेटमा ह्युगो बुएनोको क्रसमा जुलियन करान्जाले हेडर गोल गर्दै फेयेनोर्डलाई खेल बराबरी गराए, जसले समग्रमा डच टोलीलाई अर्को चरणमा पुर्यायो।
‘हामी धेरै निराश छौं। हामीले राम्रो सुरुआत गर्यौं र तुरुन्तै गोल गर्यौं। यस्तो लाग्थ्यो कि फेयेनोर्डले हामीलाई चोट पुर्याउन सक्दैन,’ गिमेनेजले भने, ‘आज थियोसँग यस्तो भयो, जुन कसैसँग पनि हुन सक्छ। यो फुटबल हो। हामी थियोलाई पूर्ण समर्थन गर्नेछौं।’
खेलको अन्त्यपछि हात हालाहाल हुँदा फेयेनोर्डका गिभाइरो रिडलाई पनि रातो कार्ड दिइयो। फेयेनोर्ड अन्तिम १६ मा इन्टर मिलान वा आर्सनलमध्ये कुनै एक टोलीसँग भिड्नेछ।