काठमाडौं। अल्फोन्सो डेभिसले स्टपेज टाइमको चौथो मिनेटमा गोल गर्दै बायर्न म्युनिखलाई च्याम्पियन लिगको अन्तिम १६ मा पुर्याएका छन्।
मंगलबार राति सम्पन्न दोस्रो लेगमा बायर्नले सेल्टिकविरुद्ध १–१ को बराबरी खेलेको हो। समग्रमा बायर्न ३–२ को जितसहित अन्तिम १६ मा स्थान बनाएको हो। पहिलो लेगमा बायर्नले २–१ को कठिन जित हात पारेको थियो।
अब बायर्नको सामना बुन्डेसलिगा प्रतिद्वन्द्वी बायर लेभरकुजेन वा एट्लेटिको मड्रिडसँग हुनेछ।
जर्मन खेलाडी निकोलस क्युनले ६३औं मिनेटमा आफ्नो पूर्वक्लबविरुद्ध गोल गरी समग्र स्कोर बराबरी गरेका थिए। तर, ९४औं मिनेटमा लियोन गोरेट्स्काको प्रयास रोकिएपछि डेभिसले बललाई जालमा पुर्याएका थिए। यसले बायर्नलाई अतिरिक्त समयमा जानुपर्ने अवस्थाबाट बचायो।
डेभिसको गोलसँगै बायर्नले दुई खेलको आधारमा ३–२ को जित हासिल गरेको हो।