काठमाडौं। इङ्गलिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई चोटले अर्को झट्का लागेको छ।
प्रशिक्षक आर्न स्लटले मंगलबार जानकारी दिएअनुसार डिफेन्डर जोय गोमेज ह्यामस्ट्रिङ चोटका कारण केही हप्ता मैदान बाहिर रहने भएका छन्।
२७ वर्षीय गोमेजले यो वर्षको सुरुआति केही खेल ह्यामस्ट्रिङ चोटकै कारण गुमाएका थिए। यस महिनाको एफए कप खेलमा प्लेमाउथ अर्गाइलविरुद्ध मैदान फर्किएका उनी मात्र ११ मिनेटमै पुनः घाइते भएर बाहिरिन बाध्य भए।
‘गोमेज लामो समय मैदान बाहिर रहनेछ,’ स्लटले भने। उनले गोमेजलाई शल्यक्रिया गर्नुपर्ने सम्भावना रहेको र सिजनको अन्तिम चरणमा मात्र उनी फर्कन सक्ने पनि बताए।
‘उनी निकै मिहिनेत गरेर पुनः मैदान फर्किएका थिए। तर, फर्किएपछि केही मिनेटमै चोट लाग्नु खेलाडीका लागि गाह्रो परिस्थिति हो,’ स्लटले थपे।
यसैबीच लिभरपुलका स्ट्राइकर कोडी गाक्पो चोटका कारण उल्भ्सविरुद्धको खेल गुमाएका थिए। उनी निको हुने क्रममा छन्। तर, बुधबार एस्टन भिल्लाविरुद्ध उनी नउत्रिने भएका छन्।
लिभरपुल अहिले दोस्रो स्थानको आर्सनलभन्दा सात अंकले अघि छ। भिल्लासँगको खेल कठिन हुने प्रशिक्षक स्लटले बताएका छन्। भिल्ला युरोपियन च्याम्पियन्स लिगको शीर्ष आठमा पुग्न सफल टोलीहो।
‘भिल्लाको घरेलु मैदानमा उत्कृष्ट रेकर्ड छ। तर, यस सिजन हाम्रो अवे (बाहिरी मैदान) प्रदर्शन पनि राम्रै छ। कठिन खेल हुनेछ। तर, हामी तयार छौं,’ स्लटले भने।