काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र ब्ल्याक बुल्स फुटबल क्लब भिड्ने भएका छन्।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ देखि १९ गतेसम्म प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा दुई विदेशीसहित ९ क्लब सहभागी हुने छन्।
युवा संघका अनुसार पहिलो खेलमा एपिएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई चुनौती प्रस्तुत गर्नेछ।
ब्ल्याक बुल्सले यसै साता २४औं आहा! रारा पोखरा गोल्डकप जितेको थियो। १२ गते भन दुई खेल हुनेछ। पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने छन्।
दोस्रो खेलमा न्युरोड टिम (एनआरटी)सामु केपी ओली एफसीले चुनौती प्रस्तुत गर्नेछ। प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लबसँगै एएपिएफ, पुलिस , त्रिभुवन आर्मी, एनआरटी र संकटा क्लबले सहभागिता जनाउने छन्। ब्ल्याक बुल्ससँगै भुटानको ट्रस्पोर्ट युनाइटेडले पनि प्रतियोगिता खेल्नेछन्।
पहिलो संस्करणमा एनआरटीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै मच्छिन्द्रले उपाधि उचालेको थियो। उक्त प्रतियोगितामा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड, थ्री स्टार क्लब, जावलाखेल युथ क्लब र मानेभञ्याङ फुटबल क्लबको पनि सहभागिता थियो।
तर, यी क्लबले दोस्रो संस्करणमा सहभागिता नजनाउने भएपछि एपिएफ, संकटा, ब्ल्याक बुल्स र ट्रस्पोर्टलाई समेट्न लागिएको हो।
प्रतियोगिताको क्वार्टरफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र सेमिफाइलका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ रूपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउने भएका छन्। प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
म्यान अफ द म्याचले १५ हजार रूपैयाँ पाउने भएका छन्। हरेक खेल जितेबापत पनि टोलीले २५ हजार रूपैया प्राप्त गर्ने युवा संघले जनाएको छ।