काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणमा दुई विदेशीसहित नौ टोलीले सहभागिता जनाउने भएका छन्।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ देखि १९ गतेसम्म प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लबसँगै एएपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम (एनआरटी) र संकटा क्लबले सहभागिता जनाउने भएका छन्।
यस्तै, अघिल्लो संस्करण झैं आयोजकको एक टोली रहने भएको छ। यस्तै, २४औं आहा! रारा पोखरा गोल्डकप विजेता उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब र भुटानको ट्रस्पोर्ट युनाइटेडले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ।
पहिलो संस्करणमा एनआरटीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै मच्छिन्द्रले उपाधि उचालेको थियो। उक्त प्रतियोगितामा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड, थ्री स्टार क्लब, जावलाखेल युथ क्लब र मानेभञ्याङ फुटबल क्लबको पनि सहभागिता थियो।
तर, यी क्लबले दोस्रो संस्करणमा सहभागिता नजनाउने भएपछि एपिएफ, एनआरटी, संकटा, ब्ल्याक बुल्स र ट्रस्पोर्टलाई समेट्न लागिएको हो।
प्रतियोगिताको क्वार्टरफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र सेमिफाइलका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ रूपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउने भएका छन्। प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
म्यान अफ द म्याचले १५ हजार रूपैयाँ पाउने भएका छन्। हरेक खेल जितेबापत पनि टोलीले २५ हजार रूपैया प्राप्त गर्ने युवा संघले जनाएको छ।