कैलाली। जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक र कर्णाली प्रदेश फुटबल एसोसिएसन भिड्ने भएका छन्।
गौरिगंगा ११ स्पोर्ट्स क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा आयोजक गौरिगंगा ११ र कर्णालीसँगै आठ टोली सहभागी छन्।
यी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा गौरिगंगा ११ र कर्णालीसँगै मधेश प्रदेशको नव जागृति युथ क्लब र सुदूरपश्चिम फुटबल एसोसिएसन छन्।
अर्को समूहमा गण्डकी प्रदेशको चोरमारा युथ क्लब, बागमती प्रदेशकझ लक्की स्टार क्लब, कोशी प्रदेशको गाईघाट फुटबल क्लब र लुम्बिनी प्रदेशको राइजिङ स्टार फुटबल क्लब छन्।
प्रतियोगितामा हरेक क्लबले पहिलो जितपश्चात् सिधैं सेमिफाइनलमा स्थान बनाउने छन्। पहिलो सेमिफाइनल फागुन ११ र दोस्रो सेमिफाइनल फागुन १२ गते हुनेछ।
फाइनल भने फागुन १४ गते रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले साढे २ लाख पाउने छन्।
उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउने छन्। सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड र उदीयमान खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।