काठमाडौं। कमजोर विपक्षी अनि उस्तै नतिजा। धेरैले अपेक्षा गरेका हुनसक्छन् घरेलु टोली नेपालले किर्गिस्तानविरुद्ध फराकिलाे जित निकाल्ने छ। तर, सबैकाे अपेक्षाविपरित १–० काे कठिन जित निकाल्दै नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा नेपाललाई जित दिलाउन विंगर विमला चौधरीले गरेको गोल नै निर्णयक बन्यो। उनले खेलको १०औं मिनेटमा हेडरमार्फत गोल गरेकी थिइन्।
नेपालले खेल अवधिभर उत्कृष्ट प्रदर्शन नगरेको होइन। १० ‘सर्ट अन टार्गट’ नै राखेको थियो। तर, कमजोर फिनिसिङका कारण १–० को नतिजामै चित्त बुझाउन बाध्य भयो।
यो नतिजा आफैंलाई चित्तबुझ्दो नरहेको नेपाली महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङ स्वीकार्छन्।
‘पहिलो हाफमा धेरै राम्रो अवसरहरू बनायौं र गोल पनि गर्याै। दोस्रो हाफमा भने योजनाअनुरूप खेल्न सकेनौं,’ उनले भने।
११ महिनाको अन्तरालमै राजेन्द्रले तेस्रोपल्ट नेपाली टोली सम्हालेका हुन्। उनको कार्यकालमा नेपालले ११ खेल खेलिसकेको छ।
ती खेलमा नेपालले पाएको बलियो विपक्षी भनेको जोर्डन र भारत हुन्। यीबाहेक सादाजसो नेपालले आफूभन्दा कमजोर विपक्षीले नै भेटाएको छ। तर, एकाध खेललाई अपवाद मान्ने हो भने नेपालले क्षमताअनुसार प्रर्दशन गर्न सकेको छैन। सोही सिलसिला सोमबार किर्गिस्तानविरुद्ध पनि दोहोरिएको हो।
किर्गिस्तान यही टोली हो, जसलाई नेपालले सन् २०१९ मा आयोजित नाडेज्दा कपमा नेपालले ८–२ ले पराजित गरेको थियो। तर, दोस्रो भेटमा भने नेपालले किर्गिस्तानलाई रोक्नै संघर्ष गर्नुपर्यो।
प्रशिक्षक राजेन्द्रले पहिलो हाफमै अपेक्षित गोल निकाल्न नसकेपछि स्टार स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ लाई दोस्रो हाफको सुरुआतमै डिफेन्डर विमला विकेको स्थानमा मैदान पठाएका थिए।
लामो समयदेखि फ्रान्सको लिग खेल्दै आएकी उनी सोमबार बिहान मात्रै स्वदेश फर्किएकी थिइन्। बिना आराम उनलाई मैदान उतार्दै आक्रमण बढाउने र बढीभन्दा बढी गोल निकाल्ने योजना बुने पनि सफल हुन सकेन। यस्तो हुनुमा नेपाली टोलीको ‘फरमेसन परिवर्तन मुख्य कारक रहेको मिडफिल्डर प्रीति राई बताउँछिन्।
‘पहिलो खेलमा जित निकाले पनि समग्रमा राम्रो खेल्न सकेनौं। दोस्रो हाफमा फरमेसन परिवर्तन गरेपछि खेल अझ बिग्रियो। हामीले त्यो फरमेसनमा तयारी गरे पनि खेल्न सकेनौं,’ उनले खेलपछि भनिन्।
गोल र प्रदर्शन हेर्दा आफ्नो टोलीले लेबनान र म्यानमारविरुद्धको खेलमा धेरै सुधार गर्नुपर्ने उनको भनाइ छ।
नेपालले अब बिहीबार लेबनानसँग प्रतिस्पर्धा गर्नेछ। सोमबार नै भएको पहिलो खेलमा म्यानमारले यो टोलीलाई ३–१ ले पराजित गरेको थियो।
त्यसपछि नेपालले प्रतियोगिताकै बलियो मानिएको म्यानमारलाई चुनौती प्रस्तुत गर्नेछ। योसँगै नेपालले लिग सक्काउने छ। लिगको शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्ने छन्।
पहिलो चरण सकिँदा नेपालको विपक्षी बलियो भएर प्रस्तुत भएका छन्। तर, नेपालको प्रदर्शन भने विगतकाे तुलनामा झनै कमजाेर देखिएको छ।
यद्यपिनेपाली टोलीका प्रशिक्षक राजेन्द्र बाँकीका खेलमा जित दिलाउने आश्वासन दिन पछि पर्दैनन्।