काठमाडौं। म्यानमारले फराकिलो जितसहित इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको हो।
यस नतिजासँगै म्यानमारले तीन अंक जोडेको छ। सोमबार बेलुका नै घरेलु टोली नेपालले किर्गिस्तानलाई चुनौती प्रस्तुत गर्नेछ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ५६औं मिनेटमा म्यानमारले सुरुआती अग्रता लियो।
विन थइनगितुनले गोलले पेनाल्टी बक्सबाट प्रहार गरेको बलले सिधैं जाली चुम्यो। ६०औं मिनेटमा लेबनान पनि खेलमा फर्कियो। मध्यभागबाट लयला इस्कान्डरले एक्लै बल बढाउँदै गोल गरिन्। उनलाई रोक्न म्यानमारकी गोलकिपर म्यो म्याम्या आफ्नो स्थान छाडेर पेनाल्टी बक्सबाहिर आइपुगेकी थिइन्। तर, रोक्न सकिनन्।
७२औं मिनेटमा म्यानमारले पुन: अग्रता लियो। सान त्वा त्वाले हेडरमार्फत बललाई जाली चुमाइन्। त्यसको तीन मिनेटपछि नै म्याट नोए बिनाले अर्को गोल थपिन्। उनले रिबाउन्डमा गोल गरेकी हुन्।