काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले स्टार खेलाडी आयुष घलानलाई कप्तानको जिम्मेवारी दिएको छ।
अघिल्लो सिजन पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेका आयुषले यो सिजन पोखराको कप्तान गर्ने भएका हुन्। आयुष एनएसएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट पोखरामा अनुबन्ध भएका थिए।
दोस्रो सिजनमा उनी पोखराको मार्की खेलाडी थिए। पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले उनलाई कप्तानको जिम्मेवारी सुम्पेका हुन्।
आयुषले कप्तानको जिम्मेवारी पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। ‘मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएकोमा पोखरालाई धन्यवाद दिन चाहन्छु। मैले टिमलाई सफलता दिलाउन भरपूर मेहनत गर्नेछु,’ आयुषले भने।
आयुषले अघिल्लो सिजन पोखराबाट खेल्दै दुई गोल गरेका थिए। पोखराले यसअघि प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरेको थियो। पोखराले आफ्नो मार्की खेलाडी भने मंगलबार सार्वजनिक गर्नेछ।