काठमाडौं। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुन: खेल्न योग्य नहुँदा नेपालले अर्को एक अन्तर्राष्ट्रिय खेल गुमाउने सम्भावना बढेको छ।
एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँगको नेपालले पहिलो लेग दशरथ रंगशालमा खेल्ने तय थियो।
प्रारम्भिक तालिका अनुसार यो खेल नेपालमा मार्च २५ हुनेछ। तर, रंगशालामा पुन: खेल्न योग्य नहुँदा यो खेल नेपालले गुमाउने सम्भावना बढेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार अब नेपालले आफ्नो ‘होम म्याच’ मलेसियाको मैदानमै खेल्ने छ।
‘एएफसीका प्रतिनिधि आउनु भएको थियो। तर, रंगशालामा सुधार भए पनि सुरक्षालगायत अन्य कुरामा अझै योग्य नभएको भनेपछि खेल यहाँबाट सर्ने पक्का भएको हो। आधिकारिक कुरा एन्फाको जिम्मेवार निकायले केही दिनमा सार्वजनिक गर्ला,’ एक पदाधिकारीले खेलपाटीसँग भने।
उनका अनुसार नेपाललेआफ्नो घरेलु मैदानमा खेल्नेपर्ने खेल मलेसियामा खेल्ने छ। मलेसियामा खेल्ने तय भएको लेगको दोस्रो खेल भने नेपालले दशरथ रंगशालामा खेल्ने छ।
नेपालले दशरथ रंगशाला र मैदानमा सुधार गर्न नसक्दा यसअघि पनि ‘होम एन्ड अवे’ खेल पटकपटक गुमाइसकेको छ। नेापलले फिफा विश्वकप छनोट २०२६ अन्तर्गतका खेल अरुकै मैदानमा खेल्न परेको थियो। नेपालले युएईसँगको खेल साउदी अरबमा खेलेको थियो। बहराइनसँगको दुबै खेल उसैको मैदानमा खेलेको हो।
एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत नेपालले मलेसियासँग खेलेपछि जुन १० मा लाओससँग खेल्ने छ। यो खेल लाओसमै हुने तय छ।
त्यस्तै, अक्टोबर १० मा नेपाल भियतनाम पुग्नेछ। त्यसको पाँच दिनपछि भियतनामले दशरथ रंगशालामा नेपालसँग प्रतिस्पर्धा गर्नेछ।
१८ नोभेम्बरमा नेपालले पुन: मलेसियासँग खेल्ने छ। त्यसपछि मार्च ३१ मा लाओससँग दशरथ रंगशालामा खेल्दै नेपालले छनोट यात्रा सक्काउने छ।