काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्टाइकर सावित्रा भण्डारी ‘साम्बा’ सोमबार स्वदेश आइपुग्नेछिन्।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबारदेखि इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप सुरुआत गर्दै छ। उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई चुनौती प्रस्तुत गर्नेछ।
तर, साम्बाको टोलीले अभान्ट ग्वेन्ग्याम्पको शनिबार फ्रान्सको शीर्ष श्रेणीको लिगमा खेल थियो। उनको टोली रेलिगेसन जोनमा रहेको हुँदा क्लबले ढिला गरेर फुकुवा गरेसँगै उनी स्वदेश फर्किन ढिला भएको हो।
लिग लिडर लियोनसँग शनिबार राति भएको खेलमा उनीसम्मिलित ग्वेन्ग्याम्प ७–० ले पराजित भएको थियो। योसँगै अपराजित रहेको लियोनले १५ बाट ४३ अंक पुर्याएको छ। ग्वेन्ग्याम्प भने एक जितसहित तीन अंक जोडेर १२ टोली सहभागी लिगको रेलिगेसन जोनमा यथावत छ।
साम्बाले यो खेलमा सुरुआती ११ मै स्थान बनाएकी थिइन्। उनले १५ मध्ये सात खेलमा सुरुआती ११ मा स्थान बनाएकी छन्। बाँकीमा भने उनी वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै आएकी छन्। उनले क्लबबाट एक गोल मात्रै गरेकी छन्।
उनी एअर इन्डियामार्फत स्वदेश फर्किने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। उनी सोमबार बिहान मात्रै नेपाल आइपुग्ने छिन्। नेपालले बेलुका किर्गिस्तानसँग खेल्ने छ।
लामो यात्रा गर्नुपर्ने भएको कारण साम्बाले पहिलो खेल गुमाउने सम्भावना रहेको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए। ‘साम्बा ढिला आइपुग्ने भएको हो। सो उसले पहिलो खेलमा रेस गर्छ होला,’ उनले भने।
नेपाली राष्ट्रिय महिला टोलीको जर्सीबाट सर्वाधिक ५५ गोल गरिसकेकी साम्बा पछिल्लो समय फ्रान्समा व्यवसायीक फुटबल खेलिरहेकी छन्। तर, उनको टोलीले लिगमा राम्रो प्रदर्शन गर्न सकेको छैन।