पथरी। लिम्बूनी ठूली कपको उपाधि पथरी ११ फुटबल क्लबले जितेको छ।
झापाको अर्जुनधारास्थित खुदुनावारीमा आयोजित प्रतियोगिताको फाइनलमा आइतबार जलथल फुटबल क्लबलाई सडनडेथमा ५–४ ले पराजित गर्दै पथरीले उपाधि जितेको हो।
उपाधिसँगै पथरीले एक लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्यो। उपविजेता जलथलले ७७ हजार ७७७ रुपैयाँमा चित्त बुझायो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा लम्बिएको थियो।
टाइब्रेकरसमेत बराबरी भएपछि विजेताको निर्णय सडनडेथबाट गरिएको हो। जसमा पथरीले बाजी मार्यो।
ट्राइब्रेकरमा पथरीका आशिष् चापागाईँ, आशिष् लावतीले गोल गरे। तर, मञ्जील खड्का, धीरेन विष्ट र उमेश कार्कीले गोल गर्न सकेनन्।
जलथलका रोशन धिमाल र पूजन राईले गोल गर्दा टेकेन मगरको प्रहार पथरीका गोलकिपर समीर क्षेत्रीले बचाए भने नीरज कार्की र राजेश राजवंशीको प्रहार बाहिरिएको थियो।
सडनडेथमा पथरीका कप्तान मीन धिमाल, अंकित लिम्बू र विदेशी खेलाडी अबयामीले गोल गरे। जलथलका पेमा लामा र अभिषेक गुरुङले गोल गरे। तर, असीम कार्कीको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।
पथरीका समीर क्षेत्री प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए। सुमन विक उत्कृष्ट प्रशिक्षक, धीरेन विष्ट उत्कृष्ट डिफेन्डर र आशिष् लावती उत्कृष्ट मिडफिल्डर घोषित भए। यी सबै पथरीका हुन्।
जलथलका असीमजंग कार्की मोस्ट भ्यालुएबल खेलाडी रहे। देवान भुजेल उत्कृष्ट गोलकिपर र रोशन धिमाल सर्वाधिक गोलकर्ता रहे।
आयोजकका निशान बस्नेत उदीयमान खेलाडी घोषित भए।