काठमाडौं। च्याम्पियन्स लिग प्लेअफमा बुधबार फेएनोर्डविरुद्ध एसी मिलानका स्टार गोलकिपर माइक मेन्याँको दुर्लभ गल्ती महँगो सावित भयो।
नेदरल्यान्ड्सको रोटरड्याममा भारी वर्षाका बीच भएको खेलमा फ्रान्सका नम्बर वान गोलकिपर माइकले तेस्रो मिनेटमै फेएनोर्डका ब्राजिलियन फरवार्ड इगोर पैक्साओको प्रहार रोक्न सकेनन्।
पेनाल्टी क्षेत्रको बायाँ किनारबाट आएको एंगल्ड प्रहार रोक्ने क्रममा माइकले बलको उचाइ सही तरिकाले अनुमान गर्न नसक्दा बल उनको हातमा लागेर पोस्टभित्र छिर्यो। यो गल्ती मिलानका लागि निर्णायक बन्यो, जसले १–० को हार बेहोर्नुपर्यो।
सन् २०२२ मा मिलानलाई सिरी ए उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका माइक त्यस सिजन इटालियन लिगकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए।
यस्तै, सन् २०१९ मा फ्रान्सेली क्लब लिलका लागि खेल्दा उनी लिग वानको उत्कृष्ट गोलकिपर घोषित भएका थिए। उनी आफ्नो उत्कृष्ट बचाउ क्षमता र धैर्यताका लागि चर्चित छन्।
तर, यस खेलमा भएको गल्तीले फेएनोर्डका अन्तरिम प्रशिक्षक पास्कल बोस्खार्टका लागि सुखद सुरुआत दिलायो। उनले दुई दिनअघि बर्खास्त भएका प्रशिक्षक ब्रायन प्रिस्केको ठाउँ लिएका थिए।