इलाम। दीपेन्द्रशिखर फुटबल क्लब इलाम १५औं संस्करणको ‘पवित्रहाङमा गोल्डकप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
दोस्रो सेमिफाइनलमा दीपेन्द्रशिखरले रोयल स्पोर्टिङ क्लब दमक झापालाई टाइब्रेकरमा ५–४ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिए पछि खेलको छिनोफानो टाइब्रेकरमार्फत गरिएको हो।
टाइब्रेकरमा दीपेन्द्रशिखर भाग्यमानी सावित भयो। टाइब्रेकरमा दीपेन्द्रशिखरका सजिना कोइराला, रेविका पाण्डे, स्वस्तिमा विक, सिमा घले र आशिका राईले गोल गरे।
यसैगरी, रोयल स्पोर्टिङका मनिषा चौधरी, अविका लावती, रेजिता मगर र कमला श्रेष्ठले गोल गरेन् भने विपासा धिमालको प्रहार इलामका गोलरक्षक झरना नगरकोटीले विफल पारिन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने ५६औं मिनेटमा आसिका कार्कीको गोलमा रोयल स्पोर्टिङले सुरुआती अग्रता लिएको थियो। तर, ६५औं मिनेटमा सजिना कोइरालाले फ्रिकिकबाट गोल गर्दै दीपेन्द्रशिखरलाई बराबरीमा फर्काएकी थिइन्।
खेलको प्लेयर अफ द म्याच रोयल स्पोर्टिङका कमला श्रेष्ठ घोषित भइन्। उनले नगद तीन हजार ६९ रुपैयाँ हात पारिन्। फाइनल प्रवेश गरेसँगै इलामले उपाधि भिडन्तमा कनकाई झापासँग भेट पक्का गरेको छ। फाइनल खेल भने फागुन २ गते हुनेछ।