काठमाडौं। गुडिसन पार्कमा बुधबार भएको ऐतिहासिक ‘मर्सीसाइड डर्बी’ पछि लिभरपुलका प्रशिक्षक अर्ने स्लटसहित चारजनालाई रातो कार्ड देखाइएको छ।
खेलको अन्त्यमा भएको विवादास्पद घटनाले एभर्टन र लिभरपुलबीचको २–२ को बराबरी खेललाई थप नाटकीय बनायो। आठौं मिनेटको इन्जुरी समयमा एभर्टनका जेम्स टार्कोव्स्कीले बराबरी गोल गरेपछि मिडफिल्डर अब्दुलाए डौकौरेले लिभरपुलका समर्थकहरू अगाडि गएर उत्सव मनाए।
उक्त घटनाले लिभरपुलका खेलाडीहरूको आक्रोश बढायो। लिभरपुलका स्थानीय खेलाडी कर्टिस जोन्सले डौकौरेको व्यवहारलाई लिएर असन्तोष जनाउँदै उनलाई समात्ने प्रयास गरेका थिए। त्यसपछि घटनाले उग्र रुप लिएको हो। दुवै पक्षका खेलाडी, प्रशिक्षक, स्टेवार्ड र प्रहरीसमेत उक्त भिडमा पुगेका थिए।
रेफ्री माइकल ओलिभरले विवाद शान्त भएपछि डौकौरे र जोन्सलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए। त्यसपछि लिभरपुलका प्रशिक्षक अर्ने स्लटले रेफ्रीसँग हात मिलाएका थिए। तर, आक्रामक रूपमा हात मिलाएको भन्दै उनलाई पनि सिधै रातो कार्ड दिइयो। उनका सहायक प्रशिक्षक सिप्के हल्सहोफलाई पनि रातो कार्ड देखाइयो।
यो खेल गुडिसन पार्कमा भएको १२०औं र अन्तिम ‘मर्सीसाइड डर्बी’ थियो। एभर्टन आगामी सिजनदेखि लिभरपुलको वाटरफ्रन्टमा रहेको नयाँ रंगशालामा सर्नेछ।
प्रिमियर लिग इतिहासमा ‘मर्सीसाइड डर्बी’मै सबैभन्दा बढी रातो कार्ड (२३) देखाइएको थियो, जुन कुनै पनि अन्य खेलको तुलनामा धेरै हो। यस खेलपछि त्यो संख्या २७ पुगेको छ।
लिभरपुल कप्तान भर्जिल भान डाइकले डौकौरेको व्यवहारलाई ठूलो ‘उक्साहट’ भने। ‘सबैजनाले त्यो देखे र हामी टिमका रूपमा प्रतिक्रिया जनायौं। अहिलेको फुटबलमा यस्ता झगडाहरू साधारण भइसकेका छन्,’ भान डाइकले भने।
एभर्टनका प्रशिक्षक डेविड मोयेसले खेल निकै उग्र भएको स्वीकार गरे। ‘यो निकै प्रतिस्पर्धात्मक खेल थियो, क्लिन खेल भन्न सकिन्न,’ मोयेसले टिप्पणी गरे। यो खेलसँगै एभर्टनले गुडिसन पार्कमा आफ्नो अन्तिम ‘मर्सीसाइड डर्बी’ सम्झनालायक बनाएको छ।