एजेन्सी । स्विजरल्याण्डका ग्रानिट जाका र सेरडान शाकिरीले विश्वकप फुटबलमा दुई खेलको प्रतिबन्ध बेहोर्ने भएका छन् । सर्बियाविरुद्ध गोल गरेपछिको सेलिब्रेसनको कारण जाका र शाकिरीले दुई खेलको प्रतिबन्ध बेहोर्नु परेको हो ।
शुक्रबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डले सर्बियालाई २ – १ ले हराएको थियो । १ – ० ले पछि परेको स्थिति उल्टाएर स्विजरल्याण्डले जित निकालेको थियो । उक्त जितमा जाका र शाकिरीले गोल गरेका थिए ।
गोल गरेपछि सेलिब्रेसन गर्ने क्रममा दुवैले अल्बानियाको झण्डाको प्रतिक बनाएका थिए । उनीहरुले अल्बानियाको झण्डामा रहेको बाजको चिन्ह बनाएका थिए । अल्बानियाको झण्डाको उक्त चिन्ह राष्ट्रवादी प्रतिक हो । अल्बानियाको झण्डामा दुई मुखे बाज रहेको छ ।
जाका र शाकिरीको सेलिब्रेसनपछि राजनीतिक अर्थ खोज्न थालिएको छ । र, दुई देशबीचका नागरिकलाई उक्साउन खोजिएको आरोप लागेको छ । यसले सर्बियाका राष्ट्रवादी र अल्बानियाका मानिसमा द्वन्द आउन सक्ने बताइएको छ ।
जाका र शाकिरीको उक्त क्रियाकलापपछि फिफाले अनुसन्धान थालेको छ । र. दुवैलाई दुई खेलको प्रतिबन्ध लाग्न सक्ने बीबीसीले बताएको छ । फिफाले दुवै खेलाडीले राजनीतिक नियम तोडेको र नकारात्मक सन्देश फैलाउन मद्दत गरेको कारण अनुसन्धान थालिएको बताएको छ ।
जाका र शाकिरी अल्बानियन मुलका खेलाडी हुन् । सन् १९९९ मा भएको सर्बियन क्रान्तिको बेला दुवै कोसोभोबाट स्विजरल्याण्ड पलायन भएका थिए ।