काठमाडौं। इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या ३० मा झारिएको छ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आइतबार ३९ बाट ३० खेलाडीलाई दोस्रो चरणमा छनोट गरेका हुन्।
पहिलो चरणबाट फरवार्ड अमिषा कार्कीसँगै सहारा लिम्बू, हेमा चौधरी, सुकृया मियाँ, सेमिहाङ्मा लिम्बू पन्धाक, मीना देउवा, पुष्पाकुमारी खड्का, यशोदा शाही र झुमा विश्वकर्मा बाहिरिएका हुन्।
अमिषा ‘लेफ्टिनेन्ट’को प्रशिक्षणमा भक्तपुरमा छिन्। यसअघि उनले यसैको तयारी गर्दै गर्दा एन्फा महिला लिगका केही खेल पनि गुमाएकी थिइन्। उनले निरन्तरता दिन नसक्ने भएको कारण टोलीबाट हटाइएको हो। ३० खेलाडीको सूचीमा पुरानै खेलाडीको बाहुल्यता छ।
यही ३० बाट अन्तिम २३ खेलाडीको टोली निर्माण गरिने प्रशिक्षक तामाङले जानकारी दिए। उनका अनुसार ३० मध्ये स्ट्राइकरद्वय सावित्रा भण्डारी तथा रेखा पौडेल र कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्वा भने विदेशी लिग खेलिरहेका कारण उपस्थित छैनन्। उनीहरूले सिधै राष्ट्रिय टोलीमा स्थान बनाउने छन्।
नेपालले फागुन ४ गते किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। प्रतियोगितामा यी दुई टोलीबाहेक म्यानमार र लेबनान पनि सहभागी हुनेछन्।