काठमाडौं। टाइब्रेकरमा मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै थ्री स्टार क्लब २४औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
कास्कीको पोखरा रंगशालामा आइतबार सम्पन्न क्वार्टरफाइनलमा थ्री स्टारले टाइब्रेकरमा मच्छिन्द्रलाई ४–२ ले पराजित गरेको हो। फाइनल प्रवेश गर्न थ्री स्टारले भारतको थन्डरबोल्ड नर्थ युनाइटेडसँग खेल्ने छ। नर्थ युनाइटेडले संकटालाई ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाइसकेको छ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो।
टाइब्रेकरमा थ्री स्टारका दीपेश घले, फोडे फफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे। मच्छिन्द्रका दिवाकर चौधरी र सनिश श्रेष्ठले गोल गरे। विशाल घलानको प्रहार बारमा लागेर फर्कियो भने आदित्य शाक्यको प्रहार थ्री स्टारका सरिन जिसीले रोके।