काठमाडौं। बार्सिलोना गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनको स्वास्थ्य सुधार भइरहेको छ र प्रशिक्षण सुरु गरेका छन्।
दायाँ घुँडा लागेको चोटका कारण महिनौंदेखि विश्राम लिएका थिए। शनिबार प्रशिक्षक हान्सी फ्लिकले उक्त जानकारी दिएका हुन्।
३२ वर्षीय जर्मन गोलकिपर टेर स्टेगन सेप्टेम्बरमा ला लिगामा भिल्लारियलविरुद्ध बार्सिलोनाको ५–१ को जितको क्रममा घाइते भएका थिए। उनको त्यसपछि शल्यक्रिया गरिएको थियो।
बार्सिलोनाले अक्टोबरमा युभेन्टसका पूर्वगोलरक्षक वोइचेक शेज्नीलाई ‘फ्रि एजेन्ट’ को रूपमा अनुबन्ध गरेको थियो। ३४ वर्षीय पोलिश खेलाडीले सन्न्यास लिने निर्णय उल्टाउँदै टेर स्टेगनको लामो समयको अनुपस्थितिमा बार्सिलोनाको मद्दत गर्न सहमति जनाएका थिए।
फ्लिकले पत्रकारसँग भने, ‘उनले प्रशिक्षण सुरु गरेका छन्। उनमा धेरै सुधार भएका छन्। हामी खुसी छौं, सबै कुरा सही ट्र्याकमा छ।’ बार्सिलोनाले ला लिगामा आइतबार सेभियाविरुद्ध खेल्दैछ। सेभिया अहिले २२ खेलबाट २८ अंकसहित १२औं स्थानमा छ।
फ्लिकले रामोन सान्चेज–पिज्जुआन स्टेडियममा चुनौतीपूर्ण खेलको अपेक्षा गरेका छन्। बार्सिलोना हाल ला लिगामा तेस्रो स्थानमा छ, रियल मड्रिडभन्दा चार अंकले पछि।
रियलले शनिबार राति एट्लेटिको मड्रिडसँग घरेलु मैदान सान्टियागो बर्नाबेउमा १-१ को बराबरी खेलेको थियो।फ्लिकले भने, ‘प्रत्येक खेल नयाँ सुरुआत हो। मैदानको वातावरण निकै राम्रो हुन्छ। हामी आफ्नो शैलीमा खेल्नुपर्नेछ र त्यो नै महत्त्वपूर्ण कुरा हो।’
बार्सिलोना लगातार तेस्रो जितको खोजीमा छ। बार्सिलोनाले बिहीबार कोपा डेल रेको क्वार्टरफाइनलमा भ्यालेन्सियालाई ५–० ले हराएका थिए।
‘हाम्रो टोलीले राम्रो प्रदर्शन गरिरहेको छ। पछिल्ला खेलहरूमा धेरै मौका सिर्जना गरेका छन्। सबै खेलाडीहरू उपलब्ध छन् र ताजा ऊर्जा लिएर खेल्नेछन्,’ फ्लिकले थपे।