काठमाडौं। एक साताअघि मात्रै इङ्लिस प्रिमियर लिगबाट साउदी प्रो लिगमा बसाई सरेका जोन डुरानलाई शुक्रबार राति अल–नासरको जर्सी लगाएर मैदानमा खेल्दै गर्दा भिडियो गेम खेलिरहेको जस्तो महसुस भएको थियो।
एस्टन भिल्लाबाट ६५ मिलियन पाउन्डमा अल–नासर भित्रिएको एक सातापछि नै उनले आफ्नो ‘ड्रिम डेब्यु’ गर्ने मौका पाएका हुन्। अल–फेहाविरुद्धको उक्त खेल उनका लागि केवल ‘डेब्यु’ मात्रै सीमित रहेन अविस्मरणीय पनि उत्तिकै रह्यो।
यो त्यही खेल थियो, जसमा अल–नासरलाई ३–० को सहज जित दिलाउन उनी आफैंले दुई गोल गरे। उनले २२औं र ७२औं मिनेटमा गोल गरेका हुन्। त्यसपछि कप्तान क्रिस्टियानो रोनाल्डोले अर्को गोल थपे।
आफैंलाई सर्वाकालिन महान् खेलाडी घोषणा गरेका रोनाल्डो यो गोल करियरको ९२४औं थियो। यस्तै, ४० वर्षको उमेर पुगेपछि उनको यो पहिलो गोल हो। खेलपछि डुरानले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘यो खेल मलाई फिफा करियर मोडजस्तै महसुस भइरहेको छ। म क्रिस्टियानो रोनाल्डोसँग गोलको सेलिब्रेसन मनाइरहेको छु! यो अकल्पनीय अनुभव हो।’
प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडका पूर्वडिफेन्डर क्रिस स्मलिङलाई ‘बिट’ गर्दै उनले पहिलो गोल १६ यार्डबाट गरे। कोलम्बियाली स्ट्राइकरले आफ्नो ‘डेब्यु’ गोलको उत्सव रोनाल्डोसँग मनाएका थिए, जसले खुसीका साथ गोलको प्रतिक्रिया दिए।
साडियो मानेको क्रसलाई २१ वर्षे डुरानले गोलकिपरको ठिक अगाडिबाट अर्को गोल पनि गरे। शुक्रबारको जितसँगै अल–नासरलाई साउदी प्रो लिगमा तेस्रो स्थानमा पुगेको छ। तर, अल–नासर शीर्ष स्थानको अल– इत्तिहादभन्दा आठ र दोस्रो स्थानको अल–हिलालभन्दा पाँच अंकले पछि छ।
अल–नासर एएफसी च्याम्पियन्स लिगको समूह ‘बी’ मा पनि तेस्रो स्थानमा छ र यस महिना अन्तिम लिग खेलको तयारी गर्दैछ।