काठमाडौं। जापानी विंगर काओरु मितोमाको निर्णायक गोलसँगै ब्राइटनले एफए कपको पाँचौं चरणमा स्थान सुरक्षित गरेको छ।
ब्राइटनले प्रिमियर लिगका प्रतिद्वन्द्वी चेल्सीमाथि २–१ को नाटकीय पुनरागमन जित हात पारेको हो। योसँगै चेल्सी प्रतियोगिताबाट बाहिरिएको छ।
ब्राइटनका गोलकिपर बार्ट फरब्रुग्गनले खेलको पाँचौं मिनेटमा कोल पामरको क्रस नियन्त्रणमा लिन नसक्दा आत्मघाती गोल खान पुगेका थिए। तर, चेल्सीले उक्त अग्रता सात मिनेटभन्दा बढी कायम राख्न सकेन।
जर्जिनियो रुटरले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। ‘सबैले लडाइँको भावना देखाउनु राम्रो भयो,’ ब्राइटनका विंगर तारिक लाम्प्टेले भने, ‘हामी एकजुट रह्यौं र यो खेललाई आफ्नो पक्षमा ल्यायौं।’
पामरले पहिलो हाफमै पुनः अग्रता दिलाउन राम्रो अवसर पाएका थिए। तर, उनी चुक्दा ब्राइटनले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल रह्यो।
मितोमाले ५७औं मिनेटमा गोल गर्दै ब्राइटनलाई जित दिलाए। उनले चेल्सीका गोलकिपर रोबर्ट सान्चेजलाई छल्दै सुन्दर फिनिस गरे। गोलमा हातले बल छोएको भन्दै विवाद भएको थियो। तर, भिएआर नहुँदा उक्त गोलले मान्यता पाएको हो।
चेल्सीले डिसेम्बरको सुरुदेखि कुनै पनि प्रतियोगितामा ‘अवे’ जित हात पार्न सकेको छैन। प्रशिक्षक एन्जो मारेस्काको पहिलो सिजनमा चेल्सीको उपाधि जित्ने सम्भावना अब युइएफए कन्फ्रेन्स लिगमा मात्र बाँकी रहेको देखिन्छ।
प्रशिक्षक फाबियन हुरजेलरको नेतृत्वमा ब्राइटनलेलिगमा अस्थिर प्रदर्शन गरिरहेको छ। तर, गत हप्ता नटिङ्घम फरेस्टसँग ७–० को लज्जास्पद हारपछि टोली पुनरागन गर्न सफल भएको छ।