काठमाडौं। किलियन एमबाप्पेले आफ्नो पहिलो क्यापिटल डर्बीमा एट्लेटिको मड्रिडविरुद्ध गोल गर्दै रियल मड्रिडलाई हारबाट जोगाएका छन्।
यस १–१ को बराबरीसँगै रियलले शनिबार स्पेनिस ला लिगाको शीर्ष स्थानमा आफ्नो कमजोर अग्रता कायम राखेको छ। शीर्ष स्थानको रियलको २३ खेलबाट ५० अंक छ।
समान खेलबाट एट्लेटिकोले ४९ अंक पुर्याएको छ। एमबाप्पे र रियलले अब मंगलबार म्यानचेस्टर सिटीको मैदानमा च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेग खेल्नेछन्।
जुलियन अल्भारेजले ३५औं मिनेटमा पेनाल्टीबाट एट्लेटिकोलाई सुरुआती अग्रता दिलाए। एमबाप्पेले दोस्रो हाफको पाँचौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए।
जुड बेलिङघमको हेडर क्रसबारमा लाग्दा रियलले दोस्रो गोलको खोजी जारी राख्यो। एट्लेटिकोका गोलकिपर जान ओब्लाकले रोड्रिगो, भिनिसियस जुनियर र एमबाप्पेको प्रहार रोक्दै अंक दिलाए।
‘हामीले आत्मबल देखायौं र गोलको अवसरहरू सिर्जना गर्यौं,’ अल्भारेजले भने, ‘हामी लिगको प्रतिस्पर्धामा छौं र अन्त्यसम्म त्यसैमा रहनेछौं।’