काठमाडौं। गत कार्तिकमा घरेलु मैदानमा आयोजित साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध २–१ ले पराजित भएको नेपाली टोली साढे तीन महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किँदैछ।
नेपालले यहीँ मैदानमा किर्गिस्तान, लेवनान र म्यानमार सहभागी इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्दै पुनरागमन गर्न लागेको हो। यही प्रतियोगिताका लागि मुख्यप्रशिक्षक राजेन्द्र तामाङले ३९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।
तर, तीमध्ये कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बा तथा स्ट्राइकरद्वय सावित्री भण्डारी ‘सम्बा’ र रेखा पौडेल भने अनुपस्थित छन्। अञ्जिला व्यावसायिक फुटबल खेल्न ग्रीस पुगेकी छन्।
सावित्रका फ्रान्स र रेखा संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको कारण बन्द प्रशिक्षणमा सहभागी नरहेको मुख्यप्रशिक्षक तामाङले जानकारी दिए। यद्यपि, यी तीन मुख्य खेलाडी प्रतियोगिता खेल्न स्वदेश फर्किने छन्।
‘अमिशा कार्कीले प्रशिक्षण छुटाएकी छन्। अन्य तीन खेलाडी भने विदेशी लिग खेलिरहेका छन्। यद्यपि, उनीहरू प्रतियोगिता खेल्न स्वदेश फर्किने तयारीमा छन्,’ उनले भने। उनका अनुसार अञ्जिला र रेखा माघ २९ गते फर्किने छन्।
सावित्रा भने फागुन दुई गतेदेखि मात्रै फर्किने राजेन्द्रले बताए। ‘अञ्जिला र रेखाले पहिलो खेल खेल्न सक्नेछन्। तर, सावित्रालाई भने गाह्रै पर्ला। साम्बाको अवस्थाअनुसार पहिलो खेलमा मैदान उतार्ने निर्णय हुनेछ,’ उनले भने।
नेपालले फागुन ४ गते किर्गिस्तानसँग खेल्ने छ। यो खेल साँझ ५:३० बजे हुनेछ। सोही दिन पहिलो खेलमा म्यानमार र लेबनान भिड्ने छन्। त्यसको तीन दिनपछि नेपालले लेबनानलाई चुनौती पेस गर्नेछ। र, अन्तिम खेल फागुन ११ गते म्यानमारसँग खेल्दै लिग चरण सक्काउने छ।
अञ्जिलाको कप्तानीमा नेपाललाई साफको फाइनलसम्म पुर्याउन रेखाले सात गोल गरेकी थिइन्। सावित्राले भने दुई गोल गरिन्।