काठमाडौं। राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले साफ महिला च्याम्पियनसिप २०२४ कपो फाइनलमा बेहोरेको हारपछि पुनरागमन गर्दै नेपाली टोली अर्को साता सुरु हुने ‘वुमेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२५’ मा सफलता हात पार्न आतुर रहेको बताएका छन्।
गत सेप्टेम्बरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफको फाइनलमा बंगलादेशविरुद्ध २–१ ले हारेपछि नेपाली महिला टोलीले पहिलो उपाधि जित्ने अवसर गुमाएको थियो। त्यसयता नेपाली महिला टोली पहिलोपल्ट मैदानमा उत्रिन लागेको हो। यसक्रममा मुख्य प्रशिक्षक तामाङले पनि टोली सम्हाल्ने क्रमलाई निरन्तरता दिएका छन्।
नेपाली महिला टोलीलाई वाफ च्याम्पियनसिप र साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका तामाङले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘साफको हारपछि कमब्याक भइसक्यौं। हामी फाइनल जसरी पनि जित्नुपर्छ भनेर सबै जना लागेका छौं र खेलाडीहरूले मलाई नै उत्साहित बनाइरहेका छन्।’
साफको फाइनलपछि महिला टोली छाड्ने घोषणा गरेका उनले अखिल नेपाल फुटबल संघ (एन्फा) को आग्रहपछि फेरि पुनरागमन गरेको पनि बताए।
एन्फा महिला लिगको अनुभवले खेलाडीलाई राम्रो बनाएको उल्लेख गर्दै उनले भने, ‘लिगमा लगाता खेल्दा सबै खेलाडी फिट रहेछ। सबै जना आत्मविश्वासी भएर खेल्नसक्ने भएछन्।
लिगले खेलाडीलाई राम्रो गरेको रहेछ।’ उनले बोलाएको ३९ सदस्यीय टोलीमा लिग च्याम्पियन टिम एपिएएफ क्लबका खेलाडीको वर्चस्व छ।
फागुन ४ गतेदेखि १५ गतेसम्म घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारले सहभागिता जनाउने छन्।