काठमाडौं। ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई हराउँदै न्युरोड टिम (एनआरटी) ले २५औं संस्करणको बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप जितेको छ।
चर्च ब्वाइजले भुटानको रोएल थिम्पु कलेजलाई ७–० ले पराजित फाइनलमा स्थान बनाएको थियो। एनआरटीले भने युकेएफसीलाई ३–१ ले पराजित गर्दै लगातार दोस्रोपटक फाइनल पुगेको थियो।
तर, २५औं आहा रारा पोखरा गोल्डकपको पहिलो खेलमै सडनडेथबाट एनआरटीलाई घर फर्काएको चर्च ब्वाइजले शनिबार धरान रंगशालामा त्यही प्रदर्शन निरन्तरता दिन सकेन। र, एनआरटीलाई २–१ को नतिजा सुम्पिँदै उपविजेतामा चित्त बुझाउन बाध्य भयो।
खेलको २२औं मिनेटमै कप्तान अनन्त तामाङको गोलमार्फत चर्च ब्वाइजले सुरुआती अग्रता लिएको थियो। तर, उक्त अग्रता चार मिनेट पनि टिक्न सकेन।
२६औं मिनेटमा विदेशी खेलाडी हेनरी पोकोले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए। ५७औं मिनेटमा उनले नै दोस्रो गोल गर्दै एनआरटीलाई तेस्रोपल्ट उपाधि दिलाए। एनआरटीले यसअघि २०६४ र २०८० मा बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो।
उपाधिसँगै एनआरटीले १० लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता चर्च ब्वाइजले भने पाँच लाखमा चित्त बुझायो।